काठमाडौं । तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने त्यसको एक महिना नवित्दै नामांकन सच्याउनेमा आफूहरूको प्रयास रहने बताएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन विभिन्न दबाबहरू परी रहेका वेला आफूले त्यसका लागि पहल गर्ने बताएका हुन् ।
आफूहरू पहिचान सहितको नामका लागी सधैँ लागिरहने बताउँदै उनले आफ्नो प्रयास त्यसमा रहने बताएका हुन् । गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो ।
पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा छ ।
यही क्रममा माओवादी केन्द्रका नेता सुरेश आले मगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू र मोर्चाका नेताहरूको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको पक्षमा प्रदेश सभामा मतदान गर्ने नीति पार्टी केन्द्रको नभएको बताएका थिए ।पहिचान पक्षधरले कोशी प्रदेशको नाम खारेज गरेर नयाँ नाम राख्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । नामकरणको विरोधमा रहेका राजनीतिक दल र सङ्घसंस्थाहरूले २५ चैतपछि ‘निर्णायक’ आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनमा माओवादी केन्द्रले पनि ऐक्यबद्धता जनाएको छ ।
आन्दोलनको क्रममा यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बु (लाजेहाङ्ग)को उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । यो घटनालगत्तै प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग भेटेका थिए । त्यसपछि प्रचण्डको निर्देशनमा छानबिन समिति गठन गरिएको छ ।
प्रतिक्रिया