चौथो महाधिवेशनका मूल नीतिलाई आधार मानेको हुदा पार्टीको नाम नेकपा (चौम) नै राख्यौं – निर्मल लामा

तपाईहरुको सम्मेलन गलत र निर्णय पनि गलत गर्नु भएको छ । निस्कासित भैसकेको मान्छेलाई सभाहलबाट बाहिर जा भन्न सक्नुहुन्न । भित्रभित्र तपाईहरुमा डर पैदा भैरहेको छ । किनकि तपाईहरुले आफ्नो स्वार्थको निम्ति पार्टी फुटाइरहनु भएको छ ।

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ५ ११:०६ बजे

वाकी

बैठक भारतको गोरखपुरमा भएको थियो । क. आजाद र क. किरणले म विरुद्ध आठ दशवटा आरोपहरु पेश गरे । मैले ती आरोपहरु हेरिसकेपछि ती आरोपहरु आधारहीन भएको बताएँ । आरोपहरुमा गुटबन्दी गर्‍यो भन्ने थियो । मैले भने मैले कहाँ गुटबन्दी गरे ? प्रमाण देखाउनुस् तपाईले पार्टीमा आफूखुशी गर्नु भएको छ । उनीहरुले भनेमैले त्यसको पनि प्रमाण खोजें, मैले भने कुन चाहिं काममा कहिले मैले आफू खुशी गरें । उनीहरुले कुनै प्रमाण जुटाउन सकेनन् उनीहरुको म माथिको अर्को आरोप थियो । मैले पार्टीको टेक कमिटी चलाउन सकिन । मैले भने खोई त मलाई त्यो कमिटी सुम्पेको ? क. मोहनविक्रम सिंहले आफू महामन्त्रीबाट हटाइनुहुँदा र त्यस ठाउँमा म आउँदा खोई त त्यो टेक कमिटी मलार्ई हस्तान्तरण गरेको ? उहाँसँग सोध्दा उहाँले मलाई त्यस कमिटीमा पश्चिममा चित्रबहादुर केसी र पूर्वमा आजाद रहनु भएको बताउनु भएको थियो । तर त्यसबारेमा केसीलार्ई सोध्दा केही छैन भने । आजादलाई सोध्दा पनि केही छैन भने । अनि त्यस्तो अवस्थामा टेक कमिटी कसरी चल्छ । के तपाईहरुले मैले छुट्टै टेक कमिटी बनाएन भन्नु भएको हो । मैले बनाएको भए तपाईहरुलार्ई थाहा पनि त दिन्थे होला नि । वास्तवमा क. मोहनविक्रम सिंहले टेक कमिटी मलाई नसुम्पने षडयन्त्र नै रच्नु भएको थियो । मलाई अर्को आरोप लगाइयो मैले कांग्रेसीसँग चन्दा लिए रे ।

 वास्तवमा घटना के थियो भने १०१२ वर्ष पुराना २००७ सालतिर वा त्यस अगाडिदेखि परिचित साथीहरु गोरखपुरमा मैले उनीहरु सँग लजमा सँगै बसेर सँगै खाएको थिएँ । उनीहरुले मलाई चन्दा दिएर मद्दत गरेका थिएँ । मैले त्यो कुरा तुरुन्तै पार्टीमा रिपोर्ट पनि गरेको थिए । मैले रिपोर्ट नगरी लुकाएको भए । त्यो कुरा उनीहरुले थाहा पाउने कुरा नै थिएन । उनीहरुले मलाई यस्ता बाहियात आरोपहरु लगाए । मैले ती कुनै पनि आरोपहरु मान्दिन भने । मैले त्यसो भनेपछि मेरो कुरालाई लिएर कसैले पनि जवाफ फर्काएनन्  र त्यो मुद्दा त्यत्तिकै ढिसमिस भयो । मैले उनीहरुलाई भने तिमीहरुको नैतिकता भए तिमीहरुले राजीनामा दिनुपर्छ । तिमीहरुको सबै षडयन्त्र धुलोमा मिलेको छ । तर म तिमीहरु जस्तो नैतिकता नभएको मान्छे होइन । अब म महामन्त्रीबाट मात्रै होइन पोलिट्व्यूरो र केन्द्रीय समितिबाट पनि राजीनामा दिन्छु । उनीहरुले भने कहाँ त्यस्तो पनि हुन्छ र ? तिमीहरुले मान या नमान म त राजीनामा दिन्छु, मैले स्पष्टताका साथ भने । बैठकमा क. जयगोविन्द साहलगायत बहुमत साथीहरुले मैले राजीनामा दिनुहुँदैन भनेर जोड दिए । मैले राजीनामा दिने कुरामा अड्डी लिए । सबैको अनुहार साह्रै अँध्यारो भयो । उनीहरु सबैले भने अब पार्टी बिग्रिन्छ । मैले भने म यस्तो महामन्त्री भएर बस्दीन । हतियार, टेक, खास केन्द्रीय काम आदि सारा मबाट लुकाउनुका साथै देशका जिल्ला जिल्लाबाट साथीहरु इण्डियामा बोलाई मेरो विरुद्ध अनर्गल प्रचार गरिंदा पनि पार्टी चुप छ।

यस्तो पार्टीमा म कसरी बस्ने तर क. जयगोविन्द साह लगायत अन्य साथीहरु धेरै नै कराए पछि केन्द्रीय कमिटीसम्ममा बस्न राजी भएँ । म जिएस (जनरल सेक्रेटरी) बाट हटेपछि त्यस पदमा क. शेरसिंह अर्थात् क.भक्तबहादुर श्रेष्ठ रहनुभयो । (नरबहादुर कर्माचार्यको) अनुसार २०३९ सालमा (चौम) भित्र सात सालको मूल्यांकनको प्रश्न पुष्पलालको सवाल, संयुक्त मोर्चा, प्रमुख अन्तरविरोध लगायतका विषयमा तीब्र अन्तरसंघर्ष चलेको थियो । सोही क्रममा निर्मल लामालाई अनुशासनको कार्वाही गर्ने षडयन्त्र हुन थालेपछि निर्मल लामाले राजीनामा दिएका थिए । बैठक सकिएपछि अरु बेला जस्तै म आलेजीसँग बाहिर भट्टीमा रक्सी खान गएँ । गोरखपुरमा पसलमा रक्सी किन्न पाइँदैनथ्यो । रक्सी पाउन भट्टी मै जानु पथ्र्यो । हामी त्यसरी जाने कुरो अरु केहीलाई थाहा थियो । सबैलाई थाहा थिएन । थाहा हुनेहरुले पनि त्यस कुरामा वास्ता गर्दैनथे । भट्टीमा पुगेपछि आलेजीले भन्नुभयो । अब त तपाई पार्टीमा काम गर्नु हुन्न क्या रे । कसले भन्यो यो मैले प्रश्न गरें । होइन तपाई अब सक्रिय हुनुहुने छैन भनेको हुँ, उहाँले कुरा थप्नुभयो । यो तपाई कसरी भन्नुहुन्छ । मैले अर्को प्रश्न गरें । जिएसबाट हटेपछि पनि काम गर्नुहुन्छ त ? उहाँले तर्क गर्नुभयो । जवाफमा मैले भने तपाई केन्द्रीय कमिटीको अर्को बैठकमा हेर्नुहोला । त्यहाँ मैले आफूले गरेको कामहरुको रिपोर्ट पेश गर्नेछु । अनि तपाईले म काम गर्छु कि गर्दैन भन्ने कुरा थाहा पाउनुहुनेछ । मेरो कुराबाट आलेजी अलि अचम्ममा पर्नुभयो । गोरखपुरको त्यो बैठकपछि म काठमाडौं उपत्यकाको इन्चार्ज भएर आएँ । मैले तुरुन्त उपत्यका कमिटी तथा जिल्ला कमिटीका बैठकहरु डाँकें । साथीहरुलाई क्रियाशील बनाएँ । त्यसबेला पार्टीको मुल समस्या अर्थ जुटाउनु थियो । चन्दा उठाउनु थियो । किनकि त्यसैबाट हेर्डक्वाटर थाम्नुपथ्र्यो । ६ महिना कमसेकम ५६ हजार रुपियाँ हेडक्वाटरमा पठाउनु पथ्र्यो ।

 मैले आफुलाई केही नभएको जस्तो गरी भूमिगत भइ सक्रियतापूर्वक काम गरे । उपत्यकामा साथीहरुले प्रश्नहरु गरें , जिएस किन छाडेको ? नछाडेको भए हुँदैन थियो र ? मैले भने अरु कुरा पछि गरौंला, अहिले काम नै गरौं । निनु (निरन्जन चापागाई) र काइलाबा (देवेन्द्रलाल श्रेष्ठ) पनि म सँगै उपत्यका कमिटीमा हुनुहुन्थ्यो । ६ महिना पछि मैले पार्टी कामको रिपोर्ट लेखे र  म क्षेत्रीय व्यूरोमा पेश गरे । त्यसपछि त्यस क्षेत्रीय व्यूरोको रिपोर्ट बन्यो । त्यस रिपोर्टमा कार्यकर्ता प्रशिक्षणका कार्यक्रमहरु सानातिना संघर्षका कामहरु र पार्टी क्रमश विस्तार हुँदैगएको कुरा उल्लेख थियो । त्यसैगरी मैले रिपोर्टको साथमा ५७ हजार चन्दा पनि संकलन गराए । रिपोर्ट र चन्दा दुवै केन्द्रीय कार्यालय अर्थात् हेर्डक्वाटरमा गएर नयाँ महामन्त्री क. भक्तबहादुर श्रेष्ठलार्ई बुझाएँ । क. मोहनविक्रम सिंह कारवाहीबाट फर्केर केन्द्रीय कमिटीमा आइसक्नु भएको थियो । म हेर्डक्वाटरमा पुगिसकेपछि केन्द्रीय कमिटीको बैठक शुरु गरियो बैठककमा सबैले आआफ्ना कामको रिपोर्ट पेश गर्ने कार्यक्रम थियो । प्रत्येकले क्रमश पेश गर्दे जाने क्रममा मेरो पालो आयो मैले त्यतिखेर आलेजीको अनुहार हेरें । उहाँ मुसुक्क हाँस्नु भयो  र, जिल्ल पर्नुभयो । रिपोर्ट पेश गर्ने क्रममा मैले भने मेरो रिपोर्ट छैन । मसँग क्षेत्रीय व्यूरोको अन्तर्गत भएका विभिन्न कामहरु जस्तो कि विभिन्न कमिटी, क्षेत्रीय व्यूरोको रिपोर्ट छ । त्यसैले क्षेत्रीय व्यूरोको रिपोर्ट महामन्त्रीबाट पढी पाउँ । क्षेत्रीय व्यूरोको रिपोर्ट फुलस्केपमा पाँचपेज थियो । त्यसमा क्षेत्रीय व्यूरो अन्तर्गत भएका विभिन्न कामहरु जस्तैकी विभिन्न कामहरुको बैठक, ती बैठकहरुले पास गरेका कार्यक्रमहरु आदिको विस्तृत विवरणहरु थियो । महामन्त्रीले ती सबै पढी सुनाउनु भयो । सबैको रिपोर्ट पेश गर्ने काम सकिइसकेपछि आलेजीलाई अलग्गै बोलाई मैले भने लौं हेर्नुहोस् । हेर्डक्वाटरको जिएसको, एमबीको र अरुहरुको रिपोर्टमा मैले जति काम गरेको रिपोर्ट कसैमा छ त ? कसैको छैन आलेजीले भन्नुभयो ।

 मैले त्यो रिपोर्ट त्यत्तिकै बनाएर ल्याएको होइन । त्यो रिपोर्ट त क्षेत्रीय व्यूरोले पास गरेको रिपोर्ट हो । क्षेत्रीय व्यूरोमा लाटागाँडाहरु त बसेका छैनन् नी मैले निर्धक्क भएर भने । आलेजीले मेरो कुरा पत्याउनुभयो । पार्टीभित्र म र एमबीजीको अन्तर्विरोध झनझन बढेर गयो र अन्त्यमा २०३९ सालमा पार्टी फुट्यो । पार्टी फुट्न लाग्दा नफुटौं भनेर मैले धेरै नै कोशिश गरें । त्यसबेला पार्टीको सम्मेलन बोलाइएको थियो । सम्मेलन बोलाएको त्यो ठाउँ सायद गोरखपुर थियो । सम्मेलनमा मेरो साथमा सर्वोत्तम डंगोल पनि गएका थिए । हामी त्यहाँ पुग्दा सम्मेलन शुरु गर्न लागिएको थियो । मैले हात जोडेर अनुरोध गरे केही दिन पर्खिनुहोस् । साथीहरु चितवनमा भेला भैरहेका छन् । उनीहरुलार्ई आउन दिउँ । उनीहरुलाई म त्यहाँ गएर लिएर आउँछु । नफुटौं बहुमत अल्पमत भएर काम गरौं भने तर उनीहरुले मानेनन् । म र सर्वोत्तम साथै उपस्थित भएको त्यस सम्मेलनले पार्टी फुट्ने निर्णय गर्‍यो । सम्मेलनले म र जयगोविन्द साह लगायत पाँच जना केन्द्रीय सदस्यहरुलाई कार्वाही गरेर निस्कासन गर्‍यो । कारवाहीको घोषणा गरी सक्दा पनि म सम्मेलन हलभित्र नै रहिरहे । सर्वोत्तम पनि त्यतिकै बसिरहे । कारवाही भैसकेकोले हामीलाई बाहिर जा भन्लान् भनेर हामी चुप लागेर बसिरह्यौं । तर हामीलाइ कसैले पनि बाहिर जा भनेनन् । हामीलाई पार्टी सदस्यताबाट निस्कासन गरिएको थियो । त्यति मै सम्मेलन हलबाट हामीलाई बाहिर जा भनेर प्रत्यक्ष रुपमा कसैले भन्न सकेन । म उनीहरुको स्थानमा भएको भए मैले भन्थे । तपाईलाई पार्टीले निस्काशन गरिसकेको छ । कृपया बाहिर जानुस् । उनीहरुले भन्न सकेनन् । घोषणा भएको १०१५ मिनेट भइसक्यो । हलभित्र गुनगुन हल्ला चल्यो । तर हामीहरुलाई कसैले पनि बाहिर जा भन्न सकेन । अनि म स्वाट्ट उठेर भने, तपाईहरुसँग नैतिकता छैन । नैतिक बलै छैन । आँटै छैन । किनभने तपाईहरुले सम्मेलन गलत र गलत निर्णय गर्नु भएको छ । निस्कासित भैसकेको मान्छेलाई सभाहलबाट बाहिर जा भन्न सक्नुहुन्न । भित्रभित्र तपाईहरुमा डर पैदा भैरहेको छ । किनकि तपाईहरुले आफ्नो स्वार्थको निम्ति पार्टी फुटाइरहनु भएको छ । भैगो म आफै जान्छु ।

 मैले त्यसो भनेपछि हलभरीमा सर्वोत्तम एक्लैले ताली लगायो । मोहनविक्रमहरु सबै ट्वाल्ल परिरहे । सम्मेलनबाट फर्केर आइ हामी चितवनमा भेला भयौं । त्यसबेला पनि म अलग्गै पार्टी गठन गर्ने पक्षमा थिइन । तर यतापट्टीका मुख्य साथीहरु छुट्टै पार्टी गठन गर्ने मनस्थितिमा पुग्नुभयो । उहाँहरु श्याम श्रेष्ठ, जयगोविन्द साह, दिलबहादुर श्रेष्ठ, नरबहादुर कर्माचार्य, चित्रबहादुर आले आदि हुनुहुन्थ्यो । मैले पछिसम्म पनि भने, हामी त्यही बसौं । तल्ला कमिटीहरुमा बसौं । तल्ला कमिटीहरुमा बसी अनुशासनमा बसी काम गरौं । पार्टी फुटाएर काम छैन । साथीहरु मान्नु भएन । मैले फुटाउनु हुन्न भन्नुमा मेरो पार्टीप्रतिको एउटा धारणाले काम गरेको थियो । म के धारणा राख्थे भने सानातिना मतभेदमा यसरी पार्टी फुटाउनु हुँदैहुँदैन । मेरो दिमागमा यो एउटा धमिलो चेतनाको रुपमा रहिरह्यो । पार्टी फुटाउन हुन्न भन्ने मेरो भनाईको पछाडि अर्को पनि एउटा कुरा थियो । त्यो के भने पार्टीको महामन्त्रीत्व चलाउने मेरो स्वभाव हैन भन्ने मेरो बलियो धारणा रहेको थियो । मेरो त पार्टीको नीतिलाई व्यवहारमा उतार्ने क्षमता छ । पार्टी नेतृत्वमा बसेर नीति निर्माण गर्नुपर्दछ । आफ्नो समर्थक विरोधी सबैसँग मिलेर काम गर्ने क्षमता हुनुपर्दछ । सबैसँग उत्तिकै मिलनसार हुनुपर्दछ । एकोकोरिनु हुँदैन यी सबै गुणहरु त ममा छैन । त्यसकारण म पहिला चौथो महाधिवेशन नफुट्दासम्म करिब करिब त्यही अनुसार हामीहरुले काम गर्‍यौं । त्यसमा मलाई निकै सन्तोष पनि थियो । एमबी महामन्त्रीमा सन्तुष्ट थिएँ । म जति थिएँ त्यतिमा सन्तुष्टि थिएँ । अरु साथीहरु पनि त्यो संरचनामा सन्तुष्ट नै थिएँ । तर साथीहरुले त्यही पार्टीमा बसिरहन नमानेपछि हामीहरुले नयाँ पार्टी गठन गर्‍यौं । हामीले नयाँ पार्टी गठन गरेपछि मोहनविक्रमले पार्टीको नाम नेकपा (मशाल) राखे हामीहरुले पुरानै नाम नेकपा (चौम) राख्यौं । पार्टी औपचारिक रुपमा २०४० सालमा फुटेको थियो । धेरै साथीहरुलाई पार्टीको पुरानै नाम राखिनुको कारण थाहा नहुन सक्छ । त्यसको खास कारण के थियो भने पार्टीको चौथो महाधिवेशनमा पारित भएको मोहनविक्रमको मूल दस्तावेजमा उल्लेखित मूल नीतिलार्ई नै हामीले समातेर अघि बढ्न खोजेका थियौं । अर्थात् एकातिर देशभक्त र जनतान्त्रिकहरुको तात्कालिक सरकार र अर्कोतिर नयाँ जनवाद । त्यसैगरी तत्काल आन्दोलनको स्वरुप के भन्ने सवालमा जनसंघर्ष र व्यापक संयुक्त मोर्चाको विकास भन्ने थियो । त्यस्तैगरी जनसेनाको गठन गर्नु जरुरी छ भन्ने कुरा पनि थियो । चौथो महाधिवेशनको दस्तावेजमा उल्लेखित यी मूल नीतिलाई आधार बनाई अगाडि बढ्ने कुरा तय भएकोले नै हामीहरुले पार्टीको नाम नेकपा (चौम) नै राख्यौं ।

 (नोट  प्रस्तुत लेख निर्मल लामाको सर्वहारा राजनीतिपुस्तकबाट लिइएको । यस पुस्तकको सम्पादन भोगिराज चाम्लिङले गरेका हुन् । प्रस्तुत लेखको प्रस्तुतिकरण टेकहरी न्यौपानेको हो)

 

 

 

 

 

 

 

 

२०७९ चैत्र ५ ११:०६ बजे

प्रतिक्रिया