खाना बन्द गरिएपछि चाउचाउ-चिउराले भोक मेट्दै सुकुमवासी
काठमाडौं । सरकारले होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरू शुक्रबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । बिहानैदेखि थाल ठटाएर सरकारको विरोध सुरु गरेका सुकुमवासी सपरिवार वृद्ध वृद्धा र बालबालिकासहित नै धर्नामा छन् ।
सरकारले उनीहरूलाई आज दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छाड्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई खाना समेत बन्द गरिएको छ ।
खाना नै बन्द गरिदिएपछि उनीहरू दिउँसो चाउचाउ–चिउरा खाएर भोक मेटिरहेका भेटिएका हुन् । बालबालिका र वृद्धवृद्धासमेत सडकमै बसेर चाउचाउ र चिउरा मिसाएर खाँदै भोक मेटाइरहेका छन् ।
गत वैशाखमा नदी किनाराबाट उनीहरूलाई सरकारले हटाएको थियो । त्यहाबाट विस्थापित भएपछि सरकारले नै उनीहरूलाई उपत्यकाका तीन ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।
काठमाडौंको नागार्जुन, भक्तपुरका दुई स्थान बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्र र खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवनमा सात महिनादेखि सुकुमवासीहरू बसिरहेका छन् ।
यसैक्रममा बोडेस्थित कृषि विकास बैङ्कको भवनमा बसिरहेकाहरूलाई ठाउँ खाली गर्न उर्दी जारी गरेपछि सुकुमवासीहरू भयभित र आक्रोशित बनेका छन् ।
प्रतिक्रिया