मलेसिया ठगी प्रकरण : सभामुख अर्यालको कार्यकालमा पनि रकम पठाइएको देखियो
काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणको नाममा असुलिएको रकम विदेश पठाइएको प्रकरणमा सभामुख डोलप्रसाद (डीपी) अर्याल श्रममन्त्री रहँदा पनि रकमान्तर भएको देखिएको छ । सीआईबीका अधिकारीहरूका अनुसार उनको कार्यकालमा गएको रकम अघिल्ला मन्त्रीहरूकै निर्णयका आधारमा पठाइएको हो ।
नेपाल र मलेसियाबीचको २०७५ को श्रम सम्झौताले स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था गरेको छ । तर, व्यवहारमा काठमाडौंका ३६ स्वास्थ्य संस्थाको सिन्डिकेटमार्फत प्रत्येक कामदारबाट १०० रिङ्गिट (रु. ३,१६४) असुलिएको थियो । सरकारी अभिलेखअनुसार सन् २०२० फेब्रुअरीदेखि २०२४ मेसम्म ७ लाख ५० हजार ९८८ कामदारबाट उठेको रकममध्ये करिब १ अर्ब ६९ करोड रुपैयाँ बराबर रकम १७ पटक मलेसियाली कम्पनी बेस्टिनेटको खातामा पुग्यो । हरेक रकमान्तरमा श्रम मन्त्रालयको सिफारिस र नेपाल राष्ट्र बैङ्कको स्वीकृति थियो ।
सीआईबीका प्रवक्ताका अनुसार रकम मलेसिया लैजाने सिलसिला पूर्वश्रममन्त्री रामेश्वर राय यादवले २०७६ माघमा गरेको मन्त्रीस्तरीय निर्णयबाट सुरु भएको थियो । पूर्वमन्त्री यादव र शेरबहादुर कुँवरले दुईदुई पटक यस्तो निर्णय गरेको सीआईबीको दाबी छ ।
अनुसन्धानको अभिलेखअनुसार अर्याल २०७९ माघ ३ मा श्रममन्त्री बनेका थिए । दुई दिनपछि माघ ५ मा ९ लाख २५७ डलर मलेसिया पठाइयो, र उनी २२ दिनमै पदबाट हटे । २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म दोस्रो पटक श्रममन्त्री हुँदा थप दुई पटक रकम गयो । सीआईबीका अधिकारीका अनुसार उनको पालामा गएका तीनै रकमान्तर अघिल्ला मन्त्रीको निर्णयअनुसार भएका हुन् ।
हाल यादव र कुँवरसहित ११ जना हिरासतमा छन् । पूर्वमुख्यसचिव तथा तत्कालीन श्रमसचिव एकनारायण अर्याललाई भारतमा पक्राउ गरेर काठमाडौं ल्याइएको छ। सबैमाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।
सीआईबीका एक अधिकारीका अनुसार दुई पूर्वमन्त्रीले रकम मलेसिया लैजान गरेका निर्णयका फाइल मन्त्रालयबाट फेला परेका छैनन् ।
प्रतिक्रिया