वालेनको भारत भ्रमणबारे अरूले के भने ?

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर १० १९:११ बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुई दिने भारत भ्रमणप्रति प्रतिपक्षी दलका नेताहरूले असन्तुष्टि जनाएका छन् । सीमा, ईपीजी प्रतिवेदन र राष्ट्रिय हितका विषय उठाउन नसकेको उनीहरूको साझा आरोप छ । वोलेको भारत भ्रमण नयाँ विगत देखी रहेका विवादका विषयमा कुनै छलफल भएन । 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा सम्पादकसँगको छलफलमा भ्रमणमा उठ्नुपर्ने राष्ट्रहितका कुरा नउठेको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको भ्रमण निजी जस्तै भएको र राजकीय वा राष्ट्रिय भन्न नमिल्ने बताए । भ्रमणअघि पूर्वप्रधानमन्त्री र विज्ञहरूसँग छलफल नगरेकोमा उनले असन्तुष्टि जनाएका हुन् । विगतमा महानगरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेका शाहले अहिले भ्रमणमा सीमा विवादबारे एक शब्द पनि नबोलेको भन्दै ओलीले उपलब्धिविहीन रहेको बताएका छन् । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार प्रेस वक्तव्य जारी गर्दै भ्रमण राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका दृष्टिले उपलब्धिमूलक हुन नसकेको ठहर गरेका छन् । वक्तव्यमा लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्ताको सवालमा प्रधानमन्त्रीले भारतका अगाडि आत्मसमर्पणवादी नीति अपनाएको आरोप छ । भारतले बुझ्न अस्वीकार गर्दै आएको ईपीजी प्रतिवेदनलाई पनि भ्रमणको एजेन्डा बनाउन नसकेको उनको भनाइ छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले बिहीबार काठमाडौंमा आयोजीत कार्यक्रममा  सत्ताको स्वार्थका लागि विदेशीसामु लम्पसार पर्ने विगतको प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा देशको हितविपरीत सम्झौता भएको उनको आरोप छ ।

उनले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिने गरी १९५० को सन्धिसँग सम्बन्धित प्रावधान पुनर्जीवित गरिएको दाबी गरे । भारतको सुरक्षा निकायलाई तालिम–प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका दिइएको आरोप पनि उनको छ । यी विषयमा उनले प्रधानमन्त्री र सरकारसँग जवाफ मागेका छन् ।

रावलले नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै राष्ट्रिय हितमा आधारित हुनुपर्ने बताए । भ्रमणमा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंहले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा आत्मसमर्पणको नीति अपनाइएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले यी विषयमा चर्चासमेत नगरेको र संयुक्त विज्ञप्तिमा पनि उल्लेख नभएको भन्दै आपत्ती जनाएका हुन् । 

ईपीजी प्रतिवेदन र पोखराका लागि हवाई मार्गको विषय पनि नउठेको उनको भनाइ छ । भारतलाई सुरक्षा परिषद्मा भिटोसहितको स्थायी सदस्यताको समर्थन गर्नुले प्रधानमन्त्रीले तटस्थ नीति त्यागेर भारतपरस्त नीति अपनाएको सङ्केत गरेको सिंहको टिप्पणी छ ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई  पुराना संरचनात्मक विषयमा प्रगति नभएको बताएका छन् । उनले यो भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको अन्योल र आशंका हटाउँदै नयाँ सकारात्मक सुरुवातको सङ्केत गरेको टिप्पणी गरेका छन् । असमान सन्धि, सीमा विवाद र आर्थिक परनिर्भरतामा भने ठोस प्रगति नभएको उनको भनाइ छ ।

२०८३ मंसिर १० १९:११ बजे

प्रतिक्रिया