भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न सघाउने
काठमाडौं । भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टमा खेलकुदको विकास र सम्बन्धित पूर्वाधार निर्माणमा दुवै देशले सहकार्य गर्ने उल्लेख छ ।
डकुमेन्टमा नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा तालिम लिने अवसर प्रदान गरिने जनाइएको छ ।
क्रिकेटका अतिरिक्त ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता अन्य खेलहरूमा पनि यस्तै अवसरहरूको खोजी गरिने सहमति भएको छ । यसअन्तर्गत नेपालमा आधुनिक बहु–खेलकुद केन्द्रहरूको विकास गर्ने सम्भावनासमेत खोजिने सहमतिमा उल्लेख छ ।
त्यसैगरी, संयुक्त आरोहण अभियान सञ्चालन गर्नेलगायत पर्वतीय खेलकुदमा सहकार्यको सम्भावना खोजिने भएको छ ।
साथै, क्रिकेट, फुटबल र अन्य खेलहरूमा भारत र नेपालका खेलाडीहरूलाई एकअर्काका खेलकुद लिगहरूमा सहभागी हुने अवसर खोज्न दुवै देशका सम्बन्धित खेलकुद निकाय तथा प्राधिकरणहरूलाई प्रोत्साहन गरिने जनाइएको छ ।
प्रतिक्रिया