डडेल्धुरा।सूदूरपश्चिम प्रदेशमा रहेका नौ वटा भगवतीका मन्दिरहरू मध्येको एक उग्रतारा मन्दिरमा आइतबार अष्टिमी मेला लागेको छ । उग्रतारा मन्दिरमा घटस्थापनाको दिनदेखि दिनगन्ति गरेर आठौं दिन पूजाआजासहित मेला लाग्ने गरेको मन्दिरका पुजारी पण्डित लोकराज भट्टले जानकारी दिनुभयो ।
शनिबार साँझपख मन्दिरमा पूजाआजा गरिएपछि आइतबार बिहानैदेखि मेला लागेको उहाँले बताउनुभयो । अष्टमीका दिन उग्रतारा भगवती मन्दिरमा राँगा र बोकाको बलि चढाउने धार्मिक परम्परा रहिआएको छ । भाकल गरेकाहरुले दाइन, दमाह, रुइसिंग, बिकुल, घण्ट, त्रिशुल आदि बाजागाजा, सुनचांँदीका आभुषणसहित राँगा मन्दिरमा पुगाउने परम्परा रहेको उहाँले बताउनुभयो ।
किम्बदन्तिअनुसार करिब दुई हजार पाँचसय वर्ष पहिले हालको अमरगढी नगरपालिका –८ लटाउली गाउँबस्ने साँकी जातिका स्थानीयले खेतीपाती गर्न गह्रामा हलो जोत्दै गर्दा हलोको फाली लागेर एउटा शिलाबाट रगत बग्न थाल्यो ।
माटोले रगत रोक्दा रोकिएन । आफूलाई खान ल्याएको खिचडीले रगत रोक्दा रोकियो । त्यसपछि यस स्थानमा देवी उत्पन्न भएर दर्शन मिलेको विश्वास छ । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवती मन्दिरमा पूजा गरिँदैआएको छ । तिनै लटाउली गाउँका साँकी र भट्ट जातीका पण्डित अहिले पुजारी रहनुभएको छ ।
साँकी जातीले अमरगढी नगरपालिका–तिलाडी पोखराका पार्की हाल कैनी जातीलाई अनुमती दिइ राँगा काट्न भनेपछि अष्टमीका दिन भगवतीको पूजाआजासहित मेला लगाएर राँगाको बलि सुरु हुन्छ । बलि दिइएका राँगाको मासु पार्की कैनीजातीले उपभोग गर्नेगरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो ।
भाकलका आधारमा मनोकामना पूरा भएपछि राँगा र बोकाको बलि दिइने धार्मिक परम्परा र चलन रहिआएको उहाँले बताउनुभयो । उहाँकाअनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बलीदिइ पूजाआजा गरिन्छ भने दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ । अष्टमीका दिन बिहान अमरगढी नगरपालिका ६ को दुुमडा र छचोडा गाउँ, अमरगढी नगरपालिका ८ को खनमडा गाउँ र अमरगढी नगरपालिका ५ को जिलोडा गाउँबाट (देउरा) बाजागाजासंगै देवताको आभुषणसहितको डोली ल्याउने गरिन्छ ।
यी चारवटा गाउँमा भएका देउरा सुनचाँदीका गरगहना सहितको डोली, भोकर, बिकुल घण्टासंगै दाहिन दमाह बजाउदै नेताध्वजासहित देउरो (शोभायात्रा) मन्दिरमा ल्याइन्छ । दसैँका दिन पूजाआजा सकिएपछि टीका लगाइ देउरो लगेर पुनः गाउँ फर्किने धार्मिक परम्परा सदियौँदेखि रहिआएको छ ।
उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूूजा तथा ठुलो मेलालाग्ने गर्दछ । कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रशिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो विरताका साथ लडाई हुँदा रगतको खोला बग्ने र जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ ।गोरखापत्र अनलाइन
प्रतिक्रिया