नेपाली दूतावास जर्मनीका प्रथम सचिव यादवविरुद्ध अख्तियारमा उजुरी

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २७ १५:०१ बजे

काठमाडौं । एकैपटक ४२ दिनको हाजिरी गरेको आरोप लागेका जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीमाथि छानबिन र कारबाहीको मागसहित असोज २३ गते अख्तियारमा उजुरी दर्ता भएको हो ।  प्रथम सचिव यादवलाई कारबाहीको माग गर्दे राष्ट्रिय सतर्कता केन्द्रमा यसअघि नै गत भदौमा उजुरी परेर अनुसन्धानको चरणमा रहेको बताइएको छ । 

एकैचोटि हाजिर गर्नु सुशासन विरुद्धको कदम भएको उल्लेख गर्दै उजुरकर्ताले हाजिरीसम्बन्धी अनियमितता तथा आर्थिक अनुशासन उल्लङ्घनमा कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।   

‘सार्वजनिक पदमा कार्यरत व्यक्तिको हाजिरी तथा सरकारी अभिलेखको विश्वासनीयतामाथि प्रश्न उठेको तथा संवेदनशील विषयमा प्रमाण नष्ट वा प्रभावित हुन नदिन सम्बन्धित अभिलेखहरु तत्काल सुरक्षित राखी निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गरियोस् भन्ने विशेष अनुरोध गर्दछु’, उजुरीमा उल्लेख छ । 

सार्वजनिक सेवाको अनुशासन, पदको जिम्मेवारी तथा राज्यबाट प्राप्त हुने तलब–भत्ता र अन्य सेवासुविधाको वैधतामाथि गम्भीर प्रश्न उठ्ने दाबी उजुरीमा गरिएको छ । 

अख्तियारलाई यादवले लिएको उक्त अवधिको तलब, भत्ता तथा अन्य सरकारी सुविधाको विवरण समेत निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न आग्रह गरिएको छ ।

जर्मनीको नेपाली राजदूतावासमा कार्यरत प्रथम सचिव रन्जन यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको विषयमा प्रमाणसहित उजुरी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी पर्वत गिरीका अनुसार नेपाली राजदूतावास जर्मनीको उजुरी प्राप्त भए पश्चात् सम्बन्धित शाखामा पठाइएको बताए ।

प्रथम सचिव यादवमाथि पत्रकार धम्काएको, दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएका दूतावासका पत्रहरू बाहिर दिएको तथा दूतावासको आधिकारिक फेसबुक पेजका सूचनाहरू तोडमोड गरेको आरोप समेत छ ।

२०८३ असोज २७ १५:०१ बजे

प्रतिक्रिया