कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ ।दसैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो । बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि दसैँ–तिहारमा आउने पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।
“पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ, दसैँमा पर्यटकहरुले शुक्लाफाँटाको अवलोकन गर्न सक्नेछन्,” उनले भने, “मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको छ ।”
पर्यटकले शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुगेर वन्यजन्तु अवलोकन गर्न सक्ने उनले बताए । वर्षा रोकिए एक साताभित्रै निकुञ्जका भित्री रुट पनि सञ्चालनमा आउने सूचना अधिकारी वाग्लेको भनाइ थियो ।
उनका अनुसार निकुञ्जले फाटाँमा २० हेक्टरमा घाँस व्यवस्थापनको काम पनि गरिरहेको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफल फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाठेबाघ र बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको घाँसे मैदानमा हजारौँको सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । शुक्लाफाँटामा दुई हजार ३०० बाह्रसिङ्गा छन् ।त्यसैगरी, यहाँ ५० वटा पाटेबाघ रहेका छन् । दुर्लभ वन्यजन्तुका र वनस्पतिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रसिद्ध छ ।
प्रतिक्रिया