प्रधानाध्यापकमाथि लात्ती-मुक्का प्रहार गर्ने दुई पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २५ १८:३१ बजे

काठमाडौं । काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका-७ घर भई कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका-१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुव प्रसाद घिमिरे रहेका छन् ।

प्रहरीका अनुसार ‌बिहीबार बिहान अन्दाजी १०:३४ बजे बुढानिलकण्ठ नगरपालिका-१० स्थित विद्यालय प्राङ्गणमा शिक्षकमाथि कुटपिट भएको सूचना पाएपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो ।

जाँचका क्रममा दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अपशब्द तथा अश्लील शब्द प्रयोग गरी गालीगलौज, धाकधम्की र अभद्र व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ । सोही क्रममा घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का र लात्ती प्रहार गरी कुटपिट गरिएको थियो।

घटनापछि नियन्त्रणमा लिइएका दुवै जनाविरुद्ध ‘अभद्र व्यवहार गर्नु नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

२०८३ असोज २५ १८:३१ बजे

प्रतिक्रिया