छर्लङ्ग भयो बालेनको अहङ्कार र चरित्र

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २० १७:५९ बजे

कठमाडौं । प्रधानमन्त्री बालेन्द्रलाई प्रश्न गर्दा रिस उठ्छ, आलोचना गर्दा अहङ्कार जाग्छ र संसद्मा जवाफ माग्दा सामाजिक सञ्जालमा ब्याङ्ग्य हान्छन् । के बालेनले ल्याउन खोजेको ‘नयाँ राजनीति’ यही हो रु सत्तामा पुगेपछि उनको बोली मात्र फेरिएको हो कि चरित्र नै ? हिजो ओलीको अहङ्कारलाई लोकतन्त्रका लागि खतरा देख्नेहरूले आज बालेनको त्योभन्दा उग्र शैलीलाई कसरी मूल्याङ्कन गर्ने ? नयाँ अनुहारको आवरणमा कतै पुरानै हुकुमी मानसिकता त सिंहदरबार छिरेको छैन रु आखिर बालेन देशका प्रधानमन्त्री बनेका हुन् कि सामाजिक सञ्जालका ?

नेपाली राजनीतिमा शक्तिको उन्मादले मानिसलाई कसरी रातारात जनउत्तरदायी नेताबाट सनकी र अहङ्कारी शासकमा रूपान्तरण गरिदिन्छ भन्ने उदाहरणहरू इतिहासमा प्रशस्तै छन् । तर, नयाँ र परिवर्तनको नारा दिएर सिंहदरबार छिरेका प्रधानमन्त्री वालेन्द्र शाहको अहङ्कार पनि दिनप्रतिदिन चुलिँदै गएको छ । लोकतान्त्रिक व्यवस्थामा प्रश्न गर्नु, आलोचना गर्नु र सत्तासँग हिसाब माग्नु नागरिक तथा प्रतिपक्षको नैसर्गिक अधिकार हो । तर, आफूमाथि उठेका गम्भीर राजनीतिक र संवैधानिक प्रश्नहरूको उत्तर संसद्मा उभिएर दिनुको सट्टा सामाजिक सञ्जालको सस्तो व्यङ्ग्य र ट्रोल शैलीमा ओर्लिनुले बालेन कसरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पनि बढी अहङ्कारी बन्दै गएका छन् भन्ने देखाउँछ । 

कांग्रेस सभापति गगन कुमार थापाले ककाठमाडौँको खुलामञ्चमा आयोजित कार्यक्रममा समाजका हरेक क्षेत्रमा लोकतान्त्रिक अभ्यासका लागि खुलामञ्च आवश्यक रहेको बताउँदै विशेष गरी देशको मूल नीति निर्माण गर्ने थलो संसद्भित्रै खुलामञ्च हुनुपर्नेमा जोड दिएका थिए । उनको सिधा र प्रष्ट भनाइ थियो-जबसम्म प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको सामना गर्न तयार हुँदैनन्, तबसम्म संसद् जीवित र खुला भएको मान्न सकिँदैन ।

गगनको यो व्यक्तिगत गाली वा असभ्य आक्रमण थिएन, देशको प्रमुख प्रतिपक्षी दलका सभापतिले कार्यपालिका प्रमुखलाई संसद्प्रति उत्तरदायी बनाउनका लागि गरिएको स्वाभाविक र लोकतान्त्रिक प्रश्न थियो । तर, प्रधानमन्त्री बालेनलाई संसद्को सामना गर्ने संवैधानिक अभ्यासभन्दा सामाजिक सञ्जालमा ताली बटुल्ने सस्तो स्टन्ट प्रिय लाग्यो । गगन थापाको अभिव्यक्ति आएको केही घण्टामै आइतबार साँझ नौ बजेतिर प्रधानमन्त्री शाहले आफ्नो फेसबुकमा व्यङ्ग्यात्मक टिप्पणी गरे- ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’ 

यो एक लाइनको स्टेटस कुनै परिपक्व देशको प्रधानमन्त्रीले दिएको जबाफ थिएन । तर प्रधानमन्त्री यसको जवाफ दिन आवश्यक ठाने र फेसबुकमा लेख्न भ्याए । प्रधानमन्त्रीले आफुले बनाई दिएको खुल्ला मञ्चमा उभिएर आफुलाई गालीगरेको भनेर जवाफ र्फकाएका थिए । प्रधानमन्त्रीको यो प्रतिक्रिया सार्वजनिक हुनासाथ राजनीतिक वृत्तमा तरंग मात्र फैलाएन, बालेनको अहङ्कारी सोच पनि छर्लङ्ग पारिदियो । उनी आफूमाथि उठेका संस्थागत प्रश्नको हल संसद्मा खोज्नुको सट्टा सञ्जालका आफ्ना अन्धभक्तहरूलाई उचाल्ने सस्तो बाटोमा लागेका छन् ।

प्रधानमन्त्री बालेनले कांग्रेसलाई लक्षित गरेर फालेको व्यङ्ग्य अहिले ब्याकफायर भएको छ । उनको यही धन्न शब्दलाई समातेर राजनीतिक दलका नेतादेखि सडकका युवा अभियन्ताहरूले बालेनमाथि चौतर्फी प्रहार गरेका छन्, जसले उनको पदीय मर्यादा र कार्यशैलीलाई पूर्ण रूपमा धुजाधुजा पारिदिएको छ । कांग्रेस नेता सचिन तिमल्सिनाले प्रधानमन्त्रीकै शैलीमा व्यङ्ग्य गर्दै धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ र प्रधानमन्त्री नै भए पनि रातको नौ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन् भन्दै कडा झापड हानेका छन् । तिमल्सिनाको यो प्रतिक्रियाले बालेन शाहले रातको समयमा सञ्जालमा छिरेर गर्ने अमर्यादित र तल्लो स्तरका टिप्पणीतर्फ सिधा औँला ठड्याएको छ । यदि पुराना दलहरूले लडेर लोकतन्त्र नल्याइदिएको भए आज सञ्जालमा बसेर गाली गर्ने र पदीय मर्यादा बिर्सिने स्वतन्त्रता स्वयं बालेनले पनि पाउँदैनथे भन्ने अकाट्य सत्य यसले सम्झाइदिएको छ ।

यसैगरी एमाले सचिव महेश बस्नेतले पनि प्रधानमन्त्रीलाई लोकतन्त्रको आधारभूत नियम सम्झाउँदै सरकारलाई प्रश्न गर्नु गाली हो कि लोकतान्त्रिक अधिकार भन्दै प्रतिप्रश्न गरेका छन् । प्रश्न गर्ने ठाउँ सदनमा बन्द गर्ने र सडकमा प्रश्न उठ्दा सरकारले नियन्त्रण गर्ने हो भने जनताले सरकारलाई प्रश्नचाहिँ कहाँ गर्ने वा प्रश्न गर्नु नै अपराध हो भन्दै बस्नेतले बालेनको कार्यशैलीमाथि धावा बोलेका छन् । कर तिर्ने जनता र तिनका प्रतिनिधिले सरकारको नीति, निर्णय र कामको हिसाब माग्न पाउनुपर्ने र खुलामञ्च पुराना दलहरूले नै बनाएकाले त्यसलाई राम्रो बनाउनु उपलब्धि भए पनि लोकतन्त्रमा प्रश्न गर्ने आवाजलाई सम्मान गर्न नसक्नु सरकारको परीक्षा भएको बस्नेतको ठहर छ । 

उता नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले बालेनको विगतको सनकी व्यवहार र बालुवाटारको शक्तिमा मात्तिएको प्रवृत्तिमाथि प्रहार गर्दै धन्न पुरानाले बनाएको बालुवाटार खरानी बनाउन नभ्याएकाले सुल्फेले सर्को हानेर रातविरात मानिसहरूलाई छोप्ने आदेश दिन पाएका छन् भन्दै बालेनको अराजक पृष्ठभूमि र शक्तिको दुरुपयोग गर्ने नियतलाई नाङ्गो पारिदिएका छन् । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रधानमन्त्री पदको गरिमा र मैले बनाएको भन्ने घमण्डमाथि सिधा प्रहार गरेका छन् । प्रधानमन्त्रीजस्तो पदमा बसेको व्यक्तिले खुलामञ्चको बारेमा त्यति तल झरेर बोल्नुले पदकै गरिमा नरहेको टिप्पणी गर्दै उनले आफूले बाटो बनाएकाले हिँड्न पायौ भन्ने किसिमले बोल्नु कतिसम्म उपयुक्त होला भन्दै प्रश्न उठाएका छन् । भोलि फेरि मैले बनाएको बाटोमा हिँड्न पाउँदैनस् भन्यो भने के हुन्छ भन्दै साम्पाङले बालेनको व्यक्तिगत घमण्डको आलोचना गरेका छन् । 

अर्कातिर राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बहसलाई ऐतिहासिक सन्दर्भतर्फ मोड्दै धन्न श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री वा मन्त्री हुन पाएको भन्दै बालेनको आत्मरतिमाथि कटाक्ष गरेका छन् । तर सबैभन्दा मर्मस्पर्शी र शक्तिशाली थप्पड भने जेनजी अभियन्ता रक्षा बमबाट आयो । बालेनलाई सत्तामा पु¥याउन योगदान गरेका युवाहरूको प्रतिनिधित्व गर्दै उनले धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते र सहिद भइदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन् भन्दै बालेनको सम्पूर्ण नक्कली क्रान्तिकारीपन र राजनीतिक संस्कारहीनताको धज्जी उडाइदिइन् । यता, पार्टी सभापति रवि लामिछानेले आफ्नै पार्टीका नेता–कार्यकर्तालाई बारम्बार अहङ्कारबाट जोगिन, पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्न र विगतको आलोचनामै अल्झिनुभन्दा भविष्यको योजना प्रस्तुत गर्न आग्रह गर्दै आएका छन् ।

नेपाली राजनीतिमा एक समय एमाले अध्यक्ष केपी शर्मा ओलीका कडा उखान–टुक्का, प्रतिपक्षप्रतिको असहिष्णुता र म नै सर्वज्ञानी हुँ भन्ने घमण्डलाई अहङ्कारको पराकाष्ठा मानिन्थ्यो । तर अहिले बालेन शाहको व्यवहार हेर्दा ओली त बालेनको अगाडि निकै शालीन र लोकतान्त्रिक नेता जस्ता देखिन थालेका छन् । 

ओलीले कम्तीमा संसद्मा उभिएर आफ्ना विरोधीहरूसँग घण्टौँ बहस गर्थे, संसद्को गरिमालाई स्विकार्थे र संवैधानिक प्रक्रियामा भाग लिन्थे । तर प्रधानमन्त्री बालेन शाह भने संसद्को सामना गर्नै डराउँछन् । सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने धम्कीपूर्ण अभिव्यक्तिदेखि लिएर काठमाडौँका साना व्यापारी, ठेलागाडा व्यवसायी र सुकुम्बासी बस्तीमाथि कानुन र मानवाधिकारलाई लत्याउँदै डोजर मच्चाउने प्रवृत्ति बालेनको हुकुमी मानसिकताका उपज हुन् । आफूलाई प्रश्न गर्ने जोकसैलाई पुराना दलका झोले वा विकासविरोधी भनेर बिल्ला भिराउने र आफ्ना समर्थकको भीडलाई विरोधीमाथि खनिन लगाउने उनको शैली ओलीको साइबर सेनाभन्दा पनि बढी खतरनाक र उग्र बन्दै गएको छ ।

जब देशको प्रधानमन्त्री संसद्प्रति जबाफदेही हुनुको सट्टा सामाजिक सञ्जालको लाइक, कमेन्ट र सेयरको मातमा झुम्न थाल्छ, तब मुलुक विधि र संविधानबाट होइन, लहड र सञ्जालको भीडतन्त्रबाट चल्न थाल्छ । बालेन शाहले बुझ्नै पर्ने कुरा के हो भने सामाजिक सञ्जालमा लाखौँ फलोअर्स हुनु र देशको प्रधानमन्त्री हुनुमा आकाश–पातालको फरक छ । फेसबुकको भित्तामा हानेको सस्तो व्यङ्ग्यले केही समय आफ्ना समर्थकबाट ताली त दिलाउला, तर त्यसले प्रधानमन्त्री पदको गरिमा, विश्वसनीयता र वजनलाई भने दिनानुदिन धूलोमा मिलाउँदै लगेको छ ।

कांग्रेसको महाधिवेशनमा गगन थापाले उठाएको मूल प्रश्न संसद्लाई कसरी जीवन्त र जनउत्तरदायी बनाउने भन्ने थियो । तर बालेनको अपरिपक्व र अहङ्कारी प्रतिक्रियाले बहसलाई उल्ट्याएर प्रधानमन्त्री शाहकै राजनीतिक संस्कार, अभिव्यक्ति स्वतन्त्रताप्रतिको दृष्टिकोण र पदीय मर्यादातर्फ मोडिदिएको छ । यो विवादले नयाँ हुनुको अर्थ संस्कारहीन हुनु होइन र सामाजिक सञ्जालमा स्टन्ट गर्नु नै सुशासन होइन भन्ने प्रष्ट सन्देश दिएको छ ।

यदि बालेन शाहले आफूभित्र हुर्कँदै गएको अहङ्कारको धङधङीलाई समयमै उतारेनन्, संसद्को सामना गर्ने हिम्मत गरेनन् र लोकतान्त्रिक मूल्य–मान्यतालाई सम्मान गर्न सिकेनन् भने, नागरिकले जुन उत्साहका साथ उनलाई टाउकामा चढाएका थिए, त्यत्तिकै द्रुत गतिमा सत्ताको सडकमा बजारेर पछार्न पनि बेर लाउने छैनन् । 

२०८३ असोज २० १७:५९ बजे

प्रतिक्रिया