काठमाडौं । नेपाली कांग्रेसले आइतबारदेखि सुरु हुने १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बासको व्यवस्था नगर्ने भएको छ । पार्टीले खाजा र खानाको व्यवस्था गर्ने तर बासको व्यवस्था भने प्रतिनिधि आफैँले गर्नुपर्ने भएको हो ।
आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा देशभरबाट ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबारसम्म ७ हजार २८ महाधिवेशन प्रतिनिधि चयन भइसकेको जानकारी दिएका छन् । त्यस बाहेक सभापतिबाट मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधि चयन हुन बाँकी रहेको छ । महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा नै हुनेछ । महाधिवेशन प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ । बिहान खाजा, दिउँसो खाना र बेलुकाको खाजा भृकुटीमण्डपमा हुने गरी तयारी गरिएको छ ।
प्रतिनिधिका लागि सुन्धारा, ठमेल, नयाँ बसपार्क, कलङ्की, एयरपोर्टलगायत क्षेत्रका होटलहरूसँग पार्टीले समन्वय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाले जानकारी दिएका छन् ।
काँग्रेसको महाधिवेशनमा अहिलेसम्मकै धेरै प्रतिनिधि सहभागी हुँदै छन् । १४औँ महाधिवेशनसम्म ४ हजार ७ सय हाराहारी प्रतिनिधि सहभागी हुँदै आएका थिए । विगतमा प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो भने अहिले ३३ जनाका दरले आउने व्यवस्था गरिएकाले प्रतिनिधिको सङ्ख्या बढेको हो ।
प्रतिक्रिया