धनुषाका १८६ परिवारले पाए लालपुर्जा

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १६ १८:३५ बजे

धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

साविक बटेश्वर गाविस–१ देखि ९ सम्मको क्षेत्रमा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो ।

उक्त क्षेत्रमा २०७४ सालमै नापजाँचको काम सम्पन्न भएको थियो । नापजाँच तथा नक्सांकन पूरा भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले १८६ परिवारले आफ्नो जग्गाको औपचारिक स्वामित्व प्रमाणित गर्ने कागजात पाएका हुन् ।

लालपुर्जा प्राप्त भएपछि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ । जग्गा दर्ता भएर प्रमाणपुर्जा प्राप्त गरेसँगै स्थानीय बासिन्दालाई जग्गासम्बन्धी कानुनी तथा आर्थिक कारोबार गर्न सहज हुने भएको छ ।

जग्गाको स्वामित्व स्पष्ट भएपछि बैङ्क तथा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिन, बिक्री तथा अन्य कानुनी कारोबार गर्न सहज हुने बताइएको छ । यससँगै जग्गासम्बन्धी विवाद समाधान गर्नसमेत सहयोग पुग्नेछ ।

यसअघि धनुषाका ४ हजार ५५४ परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् । पछिल्लो पटक १८६ परिवारलाई लालपुर्जा वितरणसँगै जिल्लामा लामो समयदेखि रोकिएका स्ववासी जग्गा दर्ता तथा प्रमाणपुर्जा वितरणको प्रक्रिया थप तीव्र बनेको छ ।

२०८३ असोज १६ १८:३५ बजे

प्रतिक्रिया