काठमाडौं । सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा देखिएको विवाद अध्ययन गर्न समिति गठन गरेको छ । समितिको शुक्रबार बसेको बैठकले रास्वपाका सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् । समितिलाई दुई महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
म्यादी प्रहरीको कपडा खरिदमा अनियमितता भएको आशङ्कामा समिति बनाउने विषयमा सांसदहरूबीच छानबिन समिति बनाउने या अध्ययन समिति बनाउने भन्ने विषयमा मतभेद देखिएको थियो ।
बैठकमा सांसद खगेन्द्र सुनारले कपडा खरिदमा अनियमितताको प्रश्न उठिसक्दा पनि लेखा समितिले प्रभावकारी चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सम्बन्धित कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको भए पनि फाइल प्राप्त भए वा नभएको जानकारीसमेत समितिका सदस्यलाई नदिइएको उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले भने छानबिनअघि सम्बन्धित तथ्य, आधार र प्राप्त प्रतिवेदनको गहिरो अध्ययन हुनुपर्नेमा जोड दिइन्। सामाजिक सञ्जालमा आएका वा बाहिर सुनिएका कुराका आधारमा मात्रै सिधै छानबिनमा जाँदा कसैलाई पहिल्यै दोषी ठहर गर्ने मानसिकता झल्किने उनको तर्क थियो।
नेकपा एमालेका सांसद ऐन महरले पनि प्रहरी जस्तो गरिमामय संस्थामाथि प्रश्न उठिसकेपछि त्यसको निरूपण गर्न आवश्यक रहेको बताए। प्रश्न उठेपछि यत्तिकै छाड्दा संस्थाको विश्वसनीयता र कर्मचारीको मनोबलमा असर पर्न सक्ने उनको भनाइ थियो। यद्यपि, महरले पनि तत्काल छानबिन समिति गठन गर्नुभन्दा अध्ययन तथा अन्वेषण समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
प्रतिक्रिया