काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत देउवाले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन गर्दै छ ।
सोही सन्दर्भमा देउवाले आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
पार्टीको झण्डै आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशन महत्त्वपूर्ण रहेको देउवाको भनाइ रहेको छ । उनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले गरेको त्याग, बलिदान र सङ्घर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् ।
देउवाले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गर्दै हुने अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । देउवा समूहले २१/२३ मंसिरसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने छ ।
प्रतिक्रिया