काठमाडौं । जापानमा जारी एसियन गेम्सको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कालाई आईसीसी टी-२० आई वरीयताका आधारमा सीधै क्वार्टरफाइनलमा राखिएको थियो । नेपाल, अफगानिस्तान, जापान, हङकङ, मलेसिया र ओमानले भने समूह चरण खेलेर मात्र क्वार्टरफाइनलको बाटो तय गर्नुप¥यो ।
नेपालले पहिलो चरणमै आफूभन्दा माथिल्लो वरीयताको अफगानिस्तानलाई हराएको थियो । वर्षाका कारण जापानसँगको खेल पूरा हुन नसके पनि नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो । नेपालले क्वार्टरफाइनल पुग्न मैदानमा भिड्नुप¥यो, तर श्रीलङ्काले क्वार्टरफाइनल पुग्नुअघि नै वरीयताको फाइदा पायो । अनि क्वार्टरफाइनलमै वर्षा हुँदा पनि वरीयताकै फाइदा फेरि श्रीलङ्काले पायो ।
नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनलमा टससमेत हुन सकेन । लगातारको वर्षाका कारण मैदान खेल्न योग्य बनेन । अन्ततः खेल रद्द भयो र उच्च वरीयताको श्रीलङ्का सेमिफाइनल पुग्यो भने नेपाल प्रतियोगिताबाटै बाहिरियो । श्रीलङ्का नवौँ र नेपाल चौधौँ वरीयतामा थिए । यसले एउटा पदक जित्ने आसमा रहेको टोली र दर्शकलाई निराश बनायो ।
अब सोच्नुस्, नेपाल श्रीलङ्कासँग १०० रनले हार्न सक्थ्यो, ५० रनले हार्न सक्थ्यो वा एक रनले हार्न सक्थ्यो । खेल सुपर ओभरसम्म पुग्न सक्थ्यो, अथवा नेपालले श्रीलङ्कालाई हराएर इतिहास रच्न पनि सक्थ्यो । यी सबै सम्भावना मैदानमा जीवित थिए । तर, नेपाललाई तीमध्ये एउटा पनि सम्भावनाको परीक्षण गर्न दिइएन ।
नेपाल जापानमा केवल भाग लिन मात्र पुगेको टोली थिएन । एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा समेत स्थान बनाएको नेपाली क्रिकेट टोली पछिल्लो समय उच्च आत्मविश्वास बोकेर अघि बढिरहेको थियो । मेडल जित्ने सपना थियो ।
एसियन गेम्सको पहिलो खेलमै नेपालले आफूभन्दा माथिल्लो वरीयताको अफगानिस्तानलाई पाँच विकेटले हरायो । त्यो जितले एउटा कुरा प्रमाणित गरेको थियो– वरीयता कागजमा हुन सक्छ, तर खेल मैदानमा हुन्छ । नेपालले अफगानिस्तानलाई हराउँदै क्वार्टरफाइनलको बाटो बलियो बनाएको थियो । जापानसँगको खेल पनि वर्षाले प्रभावित भयो, तर नेपाल समूह विजेता बन्यो ।
अर्थात्, नेपालले मैदानमा आफ्नो काम गरिसकेको थियो । त्यसैले श्रीलंकाविरुद्धको क्वार्टरफाइनल नेपालका लागि कुनै सामान्य खेल थिएन । यो एउटा यस्तो परीक्षण थियो– जहाँ नेपालले एसियाकै स्थापित क्रिकेट शक्तिलाई चुनौती दिन सक्छ कि सक्दैन भन्ने हेर्नु थियो । तर, यसको उत्तर आउनै पाएन ।
के यहाँ वर्षा मात्रै दोषी हो त रु पक्कै होइन । वर्षा प्राकृतिक कुरा हो, जसलाई कसैले नियन्त्रण गर्न सक्दैन । तर, प्रतियोगिताको संरचना मानिसले बनाउँछ, खेल तालिका मानिसले नै तय गर्छ । रिजर्भ डे राख्ने कि नराख्ने, वैकल्पिक मैदान खोज्ने कि नखोज्ने, मैदान सुकाउने पर्याप्त उपकरण राख्ने कि नराख्ने ? यी सबै व्यवस्थापकीय विषय हुन् ।
नेपाल र श्रीलंकाबीच खेल तय भएको कोरोगी स्पोट्र्स पार्कमा पर्याप्त ‘ड्रेनेज’ प्रणाली र पूरै मैदान ढाक्न सक्ने ठूलो त्रिपाल समेत थिएन । अझ ठूलो समस्या त के भने, क्रिकेटको नकआउट चरणमा ’रिजर्भ डे’ नै राखिएको थिएन । त्यसैले एउटा खेल वर्षाले रोकीएपछि अर्को दिन कुर्ने विकल्प पनि बाँकी रहेन ।
बहुखेलकुद प्रतियोगिताको समयतालिका सीमित हुन्छ, यो सत्य हो । तर त्यसो भन्दैमा कुनै एउटा टोलीको पदक यात्रा नै मौसम र वरीयताको संयुक्त निर्णयमा छोड्ने कि नछोड्ने रु मुख्य बहस यही हो । यो समस्या नेपालको मात्रै होइन । भारत र अफगानिस्तानबीचको क्वार्टरफाइनल पनि वर्षाका कारण रद्द भयो । र, भारत उच्च वरीयतामा भएकाले सेमिफाइनल पुग्यो । पाकिस्तान र हङकङबीचको खेल पनि हुन सकेन, पाकिस्तान अघि बढ्यो । पछि नेपाल–श्रीलङ्का र बङ्गलादेश–मलेसियाको क्वार्टरफाइनल पनि वर्षाकै सिकार भयो । उच्च वरीयताकै कारण श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल पुगे । अर्थात्, क्वार्टरफाइनल सकिँदा मैदानले छान्नुपर्ने चारवटै टोलीलाई वरीयताले छानिदियो ।
एसियन गेम्सको मूल आयोजक संरचना ओलम्पिक काउन्सिल अफ एसियासँग जोडिएको छ । क्रिकेटको प्रतियोगिता संरचना र खेल सञ्चालनका सर्तहरू एसियन गेम्सका आयोजक पक्षले नै तय गर्छन् ।
यो खेलबाट नेपालले केही महत्त्वपूर्ण पाठ सिकेको छ । सबैभन्दा पहिलो पाठ– वरीयता पनि खेलको एउटा बलियो हतियार हो । नेपालले मैदानमा राम्रो प्रदर्शन गरेर अफगानिस्तानलाई हरायो । तर विश्व वरीयतामा आफूलाई अझ माथि पु¥याउन सकेन भने यस्तै परिस्थितिमा सधैँ जोखिम रहन्छ । प्रशिक्षक स्टुअर्ट लले पनि वरीयता प्रणालीको आफ्नै कारण रहेको स्वीकार गर्दै नेपालले त्यो सिँढी चढ्नुपर्ने बताएका थिए । तर, यसको अर्थ नेपालले केवल वरीयता सुधारेर चुप बस्नुपर्छ भन्ने होइन ।
क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा मौसमलाई पनि रणनीतिक जोखिमका रूपमा हेर्नुपर्ने समय आएको छ । आयोजकसँग ’रिजर्भ डे’ छ कि छैन ? मैदानको ड्रेनेज अवस्था कस्तो छ ? वैकल्पिक मैदान छ कि छैन ? वर्षाको सम्भावना कति छ ? खेल छोट्याउन सकिने अवस्था कस्तो छ ? यी सबै प्रश्न अब टोलीको तयारीकै हिस्सा बन्नुपर्ने देखिन्छ ।
किनकि, नेपालले यसपटक एउटा कठोर सत्य भोगेको छ– टोलीले कति राम्रो खेल्छ भन्ने कुरा मात्रै पर्याप्त हुँदैन, कुन नियम र कुन संरचनाभित्र खेल्दै छ भन्ने कुरा पनि उत्तिकै निर्णायक हुन्छ ।
प्रतिक्रिया