रास्वपा सभापति रवि र अमरेशकुमार पछाडि वालेनको सुराकी 

प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा डा.सिंहले प्रधानमन्त्री वालेन शाह सरकारले आफू र रविको पछाडि सुराकी लगाएको बताएका हुन् ।

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १३ २०:२९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेशकुमार सिंहले बालेन सरकारले आफूसँगै सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछाडि सुराकी लगाएको बताएका छन् ।

प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा डा. सिंहले प्रधानमन्त्री वालेन शाह सरकारले आफ्नो पछाडि सुराकी लगाएको बताएका हुन् । उनले भने, ‘हिजो पनि जो बोल्थ्यो, त्यसको विरुद्धमा सुराकी लगाउँथ्यो । आज पनि जो बोलिराखेको छ, त्यसको विरुद्धमा सुराकी छ । चाहे अमरेश सिंह छ, चाहे रवि लामिछाने छ, प्रचण्ड । जो बोल्छ, त्यसलाई सुराकी आइहाल्छ।’

उनले राजनीतिक दलका नेताको पछाडिभन्दा पनि आपराधिक गतिविधि नियन्त्रणका लागि सुराकी लगाउनुपर्ने बताए । ‘कुनै आपराधिक गतिविधिको विरुद्धमा हुनुपर्ने हो,’ उनले भने । सिंहले आफूले प्राप्त गरेको जानकारीका आधारमा सुराकी लगाएको बताएका हुन् । ‘मैले जहाँसम्म जानकारी छ । मेरो मात्रै होइन, सभापतिलाई पनि छ । रवि लामिछानेलाई पनि छ,’ डा. सिंहले प्रश्न गरे, ‘तपाईँले देशमा अपराध कन्ट्रोल गर्नलाई सुराकी प्रयोग गर्नुको सट्टा नेता नेताको घरको अगाडि सुराकी राख्यो भने पाउने के ?’

आफ्नो पछाडि सुराकी लगाएर केही नहुने उनको भनाइ थियो । ‘राजनीति गर्ने मान्छेले, म राजनीतिज्ञ हुँ । मैले नेता नभेट्ने त कलाई भेट्ने ? आफ्नो सभापतिलाई भेट्छु, पार्टीको नेतालाई भेट्छु । अरु पार्टीको नेतालाई भेट्छु,’ सिंहले भने ।


२०८३ असोज १३ २०:२९ बजे

प्रतिक्रिया