वैतडी।घर फोडेर चोरी गरेको आरोपमा बैतडी प्रहरीले दशरथचन्द नगरपालिकाका एक कार्यपालिका सदस्यसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट प्रहरीले सुन र तामाका भाँडाकुँडा बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–५ का वडा सदस्य एवं नगर कार्यपालिका सदस्य विनोदराम लोहार, लक्ष्मण मौनी, महेश लोहार र तबिराम लोहार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो।
दशरथचन्द नगरपालिका–५, अला गाउँका जयदेव भट्टको घरको छत फुटाएर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो। भट्टको घरमा एक महिनाअघि चोरी भएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “कार्यपालिका सदस्यकै योजनामा घरको छत फोडेर शृङ्खलाबद्ध चोरी गरेको भेटिएको छ। अर्को घरमा पनि यस्तै प्रकृतिको चोरी भएको छ। आरोपितहरूबाट सुन लगाउने पोते र तामाका भाँडाकुँडा बरामद गरेका छौँ। सुन भने आधा काटेर गायब पारिएको छ।”
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।चोरीको आरोपमा पक्राउ परेका कार्यपालिका सदस्य विनोदराम लोहार २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा सदस्य निर्वाचित भएका थिए। वडा सदस्य लोहार नगर कार्यपालिका सदस्यमा समेत मनोनीत भएका थिए।
प्रतिक्रिया