धनगढी।सुदूरपश्चिममा लगातार वर्षा भइरहेका कारण नदी, खोला तथा जलस्रोतमा बहाव बढ्न थालेको छ।तत्कालै ठूलो बाढीको चेतावनी दिने अवस्था नरहे पनि आगामी दुई दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार पछिल्लो समय वर्षासँगै विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ। रातिको समयमा केही स्थानमा बहाव बढे पनि बिहान भने केही घटेको थियो। तर शनिबार दिउँसो पुनः केही नदी तथा खोलाको सतह बढेको उनले बताए।
“हिजोदेखि वर्षा भइरहेको छ। बहाव बढेको भए पनि अहिलेसम्म चेतावनीको तहमा पुगेको अवस्था छैन। राति केही बहाव बढे पनि बिहान घटेको थियो, तर आज दिउँसो केही स्थानमा पानीको सतह फेरि बढेको छ,” शाहले भने।उनका अनुसार शनिबार र आइतबार कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र अछामका केही नदी तथा खोलामा पानीको सतह सतर्कताको नजिक पुग्न सक्ने अवस्था देखिएको छ। बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका पहाडी क्षेत्रमा भने धेरै स्थानमा वर्षाका कारण जोखिमको अवस्था रहेको उनले बताए।
पछिल्लो २४ घण्टामा अछाममा १५६ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। धनगढी र अत्तरियालगायतका क्षेत्रमा १सय ५१ दशमलव ८ मिलिमिटर तथा भजनी र बेलौरी क्षेत्रमा करिब १ सय ४० मिलिमिटर वर्षा मापन गरिएको छ। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा १ सय ३० मिलिमिटर आसपास वर्षा भएको बताइएको छ।
प्रतिक्रिया