भारी वर्षाको पूर्वानुमान, उच्च सतर्क रहन आग्रह

bimbonline बिम्ब अनलाइन
२०८३ असोज ९ २१:११ बजे

आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका स्थानीयको सुरक्षाका लागि उच्च सतर्कता अपनाइएको जनाएको हो । 

जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वयात्मक बैठकले सम्भावित विपत्का बेला उद्धार, राहत तथा नागरिकको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउने निर्णय गरेको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो । शुक्रबारदेखि आगामी ११ गतेसम्म भारी वर्षा हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै बाढी तथा डुबानको जोखिम कम गर्न सहरी क्षेत्रका ढल तथा नहर सफा गर्ने, पानीको निकास खुलाउने र अवरोध हटाउने कामलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । यहाँका सबै स्थानीय तहसँग समन्वय गरेर जोखिममा परेका नागरिकलाई विद्यालय तथा अन्य सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनुभयो । 

यसका साथै सम्भावित विपत्का कारण विद्युत् तथा सञ्चार सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलाई आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । बैठकले विपत्का बेला आवश्यक पर्ने आकस्मिक उपचारका लागि महाकाली प्रादेशिक अस्पतालसहित सरकारी तथा निजी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । साथै सम्भावित बाढी, डुबान तथा अन्य विपत्का बेला नागरिकको सुरक्षा, तत्काल उद्धार र राहतलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायबिच समन्वय अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनुभयो । 

कञ्चनपुरमा शुक्रबारदेखि आइतबारसम्म ठुलो वर्षाको सम्भावना रहेको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय साहले बताउनुभयो । शुक्रबार सजकता अपनाउन आग्रह गर्नुहुँदै उहाँले शनिबार खतरा रहेको र आइतबारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने अनुमान रहेको बताउनुभयो । त्यसै गरी बाढीजन्य विपत्बाट जोगिनका लागि यहाँका स्थानीय तहले विपत् खोज तथा उद्धार सामग्री तम्तयार अवस्थामा राखेका छन् । भीमदत्त नगरपालिकाका विपत् सम्पर्क व्यक्ति मनोजप्रसाद भट्टले सबै क्षेत्रसँग  समन्वयात्मक बैठक बसेर बाढीजन्य विपत्बाट जोगिन पूर्वतयारी गरिएको बताउनुभयो । सामुदायिक विपत् व्यवस्थापन समितिलाई पनि सक्रिय पारिएको छ । महाकाली नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन उहाँले आग्रह गर्नुभयो । बेलौरी नगरपालिकाका विपत् सम्पर्क व्यक्ति अशोककुमार पाण्डेले पालिकाका १० वटै वडामा विपत् खोज तथा उद्धार सामग्री तम्तयार अवस्थामा राखिएको बताउनुभयो । बढी जोखिम क्षेत्र वडा नम्बर ५ स्थित भकुन्डा, रामनगरलगायतका क्षेत्रका स्थानीयलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो । 

दोधारा चाँदनी नगरपालिकाले महाकाली नदी, जोगबुडा नदीको डुबान जोखिम क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि उचित प्रबन्ध मिलाउनका साथै खोज तथा उद्धार सामग्री तयार अवस्थामा राखिएको पालिकाले जनाएको हो । त्यसै गरी लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिका, बेलडाँडी गाउँपालिकाले पनि बाढी जोखिम क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई सुरक्षित रहन आग्रह गरेका छन् । स्थानीय तहले माइकिङ, जनचेतनामूलक सन्देश प्रवाह गर्दै विपत्मा परेका परिवारलाई नजिकैको वडा कार्यालयमा समयमै जानकारी गराउन आग्रह गरेका छन् । 

त्यसै गरी शुक्लाफाँटा नगरपालिकाले एक सूचना जारी गर्दै पालिका भएर बग्ने स्याली नदी, सुनबरा, वनहरा, दोदा किनाराका स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी माछा मार्ने, दाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्नसमेत पालिकाले आग्रह गर्दै आएको छ ।गोरखापत्र अनलाइन


२०८३ असोज ९ २१:११ बजे

प्रतिक्रिया