सरकारको स्टण्डवाजी पीडितलाई महंगो पर्‍यो

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ १७ ११:१३ बजे
प्रधानमत्री वालेन साह

काठमाडौं। ‘हामी शुक्रबारदेखि नै यहाँ आएका छौं । सरकारलाई हारगुहार गरिरहेका छौं । सरकारले गर्न चाहिँ गरिरहेको छ । तर, सरकारले केही गरेको जस्तो हामीलाई लाग्दैन । त्रिशूली थ्री बीका लागि हामीले एक्स्काभेटर झार्न खोजेको शुक्रबारदेखि नै हो ।

तर, सोमबार बल्ल एक्स्काभेटर झरेको छ । सुरुमा दलदल छ, भित्र जान सकिँदैन भनियो, तर सोमबार रेकी गर्दा भित्र जाने ठाउँ भेटिएको छ । त्यसो हुँदा थप मान्छे लगेर उद्धार कार्य हुनुपर्‍यो, २–३ सय जनशक्ति र एक्स्काभेटर पनि ४–५ वटा लगे हुने थियो,’ यो भनाइ त्रिशूली थ्रीबीमा हराइरहेका टिम लिडर इन्जिनिरयर कमल पाण्डेका छोरा विवेक पाण्डेको हो । आफ्ना पिता जीवितै फर्कन्छन् कि भन्ने आशामा पाण्डे नुवाकोटमा कुरेर बसेका छन् ।

सुरुङ उद्धारमा घटना भएको पहिलो ७२ घण्टालाई ‘गोल्डेन आवर’ मानिन्छ । यसबीच उद्धार गर्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ । तर, एक साता बितिसक्दा पनि सरकारले उद्धारमा सफलता पाउन सकेको छैन ।त्रिशुली थ्रीबी आयोजनामा काम गरिरहेका १ सय ९८ कर्मचारी तथा कामदार अझै पनि सम्पर्कविहीन छन् । तर, अहिलेसम्म पनि पूर्ण क्षमताको उद्धार कार्य सुरु हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणकै सहायक कम्पनीले बनाइरहेको यो विद्युत् आयोजनाका कामदारको उद्धारमा बल्ल एउटा एक्स्काभेटर घटनास्थल पुगेको छ। थप एक्स्काभेटर र अन्य सामग्री पठाउन खोजिरहे पनि हालसम्म पुर्‍याउन नसकेको उनको भनाइ छ।विवेक पाण्डेजस्ता हजारौं परिवारका सदस्य तथा सहकर्मी त्रिशूली करिडोरमा जलविद्युत् आयोजनाबाट बेपत्ता भएका आफन्त आउने आशामा बसेका छन् । तर, नेपाल सरकारले सात दिनसम्म पनि सुरुङमा फसेका मानिसको उद्धारमा सफलता प्राप्त गर्न सकेको छैन।

पुरानो जलविद्युत् आयोजना चिलिमेमा फसिरहेका आफ्ना प्राविधिक कर्मचारीको अझै पनि उद्धार हुन नसकेको प्रमुख कार्यकारी अधिकृत भाइराजा महर्जनले जानकारी दिए ।‘नेपाली सेना र भारतीय सेनाको टोली हिजो र आज पनि सुरुङमा हेरेर फर्केको छ, तर लेदो छिरेको छ, त्यो निकाल्ने एक्स्काभेटर लगायत उपकरण अहिलेसम्म पनि पुगेको छैन,’ उनले भने, ‘भोलि कसरी उद्धार गर्ने हो त्यसबारे सेनाले हामीलाई केही जानकारी गराएको छैन ।’

अहिलेसम्म सुरुङबाट अलिअलि लेदो र डेब्रिस निकालेर सेना भित्र प्रवेश गर्न खोजे पनि थप केही नभएको उनले बताए । ‘त्यहाँ महासागर छ, एक लिटर पानी निकालेजस्तो काम मात्रै भएको छ,’ उनले भने ।चिलिमेको सुरुङबाट नेपाली सेनाले निकालेको शव आफ्ना कर्मचारीको नभएको उनले जानकारी दिए ।अर्कातिर, निजी क्षेत्रको लाङटाङ जलविद्युत् आयोजनामा सोमबार नेपाली सेनाको टोली सुरुङको १ सय मिटर भित्र गएर फर्के पनि उद्धार हुन नसकेको आयोजना प्रवर्द्धक विजयमान भट्टराईले जानकारी दिए । त्यहाँको अवस्था हेर्नेबाहेक थप उद्धारको केही काम हुन नसकेको उनको भनाइ छ ।

‘एक सय मिटर भित्र पुगेपछि बोल्डर भेटियो, त्यहाँबाट भित्र जान सक्ने अवस्था देखिएन, त्यसलाई क्लियर गर्न उपकरणहरू ल्याउनुस् भनेर नेपाली सेना फर्केको छ, मंगलबार पनि उपकरण लैजान सकेका छैनौं,’ उनले भने, ‘हामीले उपकरण लैजाने प्रयास गरिरहेका छौं, त्यो लगेपछि नेपाली सेनाले संयुक्त रूपमा उद्धार गरौं भन्ने प्रस्ताव गरेको छ ।’

विपद् आएको ७ दिनसम्म पनि उद्धार हुन नसक्नु सामान्य कुरा नभएको उनले बताए । ‘हामीले सुरुदेखि नै संयुक्त उद्धारमा खटौं भन्यौं, तर त्यसमा सहजीकरण भएन, अब सरकारले नै संयुक्त काम गरौं भनेकाले केही हुन्छ भन्ने आशा छ,’ उनले भने ।त्रिशूली करिडोरको सबैभन्दा ठूलो अपर त्रिशूली–१ स्रोतका अनुसार सरकारले मंगलबार अनुमति दिएपछि काठमाडौंबाट केही उपकरण उद्धारस्थलमा पुर्‍याइएको छ । यद्यपि, अझै पनि आयोजनास्थलमा एक्स्काभेटर जस्ता उपकरण पुर्‍याउन सकिएको छैन ।सोमबार र मंगलबार चिनियाँ र नेपाली सेनाको टोलीले एक्सेस टनेलबाट भित्र छिरेर अवस्थाबारे जानकारी लिइरहेको तथा उद्धारको प्रयास गरिरहेको कम्पनी स्रोतले जानकारी दियो ।

‘अहिले आयोजना क्षेत्रमा खोजी कार्यलाई प्राथमिकता दिएर काम भइरहेको छ,’ आयोजना स्रोतले भन्योे । उद्धार र खोजीबारे विस्तृत जानकारी आफूहरूसँग पनि नरहेको उनले बताए ।सुरुङ उद्धारमा तुलनात्मक धेरै काम भइरहेको अपर त्रिशुली थ्रीएमा सुरुङ भित्र छिर्न प्रयास भइरहे पनि एकपछि गर्दै अर्को समस्या आइरहेको उद्धार कार्यमा खटिरहेका एक इन्जिनियरले बताए ।

‘आज बल्ल एउटा उपकरण सुरुङभित्र छिराउन सक्ने खालको ठाउँ भेटिएको छ, त्यसमार्फत बबक्याट नामक उपकरण भित्र छिराएर बाटो बनाउने प्रयास भइरहेको छ, त्यो उपकरण साइटमा पुर्‍याउने प्रयास भइरहेको छ,’ ती इन्जिनियरले भने ।सुरुङ उद्धारमा सरकारले बेलैमा आवश्यक सहयोग लिन नसक्दा सुरुङ उद्धारमा ढिलाइ भएको र फसेका मानिसको ज्यान बचाउने सम्भावना क्षीण हुँदै गएको सरोकारवाला बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार सरकारले सुरुङ उद्धारलाई सबैभन्दा कम प्राथमिकता दिएर काम थालेको थियो । सुरुमा स्थल उद्धार लगायत काम गर्ने र सुरुङमा फसेका मानिसको उद्धारलाई तेस्रो प्राथमिकतामा राख्ने गरी तयारी भएको जानकारी स्रोतले दियो । 


२०८३ भदौ १७ ११:१३ बजे

प्रतिक्रिया