भोटेकोसी उर्लिंदा
पानी मात्र उर्लिएन
सयौँ सपना बगायो,
घर बगायो,
सम्पत्ति बगायो,
कसैको सहारा त,
कसैको संसार नै बगायो।
माटोमुनि पुरिएका छन्
थुप्रै जीवनका कथा,
किनारमा आफन्तहरू उभिएका छन झिनो आशाको त्यान्द्रो समाई
“कतै आउँछन कि फर्केर हाम्रो मान्छे?”
तर नदी र त्यसको किनारसँग छैन
हराएकाहरूको ठेगाना।
आज त्रिशूली र भोटेकोसीको भेलसँगै,
नेपालको मुटु रोएको छ।
कोही घरविहीन बनेका छन,
त सहाराविहीन बनेका छन कोही।
कसैले जीवन
फेरि शून्यबाट सुरु गर्ने बाध्यता बनेको छ।
यस महाविपत्तिको मुकाबिला
एक व्यक्ति,समुदाय तथा
सरकार एक्लैले गर्न सक्दैन,
त्यसैले अब चाहिन्छ
मानवताको सामूहिक हात।
तर प्रश्न यति मात्र होइन
फेरि कहिलेसम्म
बाढी आएपछि राहत बाँड्ने?
फेरि कहिलेसम्म
विनाशपछि पुनर्निर्माण गर्ने?
अब त
विकासको ढाँचा बदल्नुपर्छ,
बस्तीहरुका स्वरूप बदल्नुपर्छ,
प्रकृतिसँग लडेर होइन,
प्रकृतिसँग मिलेर बाँच्न सिक्नुछ।
विश्वलाई तातो बनाउनेहरू
ठूल-ठुला उद्योगबाट धुवाँ उडाउनेहरू कोही,
तर त्यो तातो
हिमालको काखमा बस्ने
नेपालीको घरसम्म आइपुग्ने।
पाप अरूको,
प्रायश्चित हाम्रो
दोष अरूको,
दण्ड हाम्रो
यही हो
जलवायु अन्यायको कठोर सत्य।
त्यसैले आज
भोटेकोसी र त्रिशूलीको आवाज
केवल शोक मग्न आवाज होइन
यो संसारलाई गरिएको प्रश्न हो
प्रकृति विनाशको मूल्य
कसले तिर्ने?
किन विकासको लाभ
एउटाले लिने?
र विनाशको भार
सधैँ
निर्दोषले बोक्ने?
आऔ
दिवंगतहरूको सम्झनामा दीप बालौँ,
पीडितका हातमा हात राखौँ,
र भोटेकोसी र त्रिसुलीको भग्नावशेषबाट
भोलीको सुरक्षित नेपाल बनाऔँ।
नदीलाई दोष दिएर
भविष्य सुरक्षित हुँदैन—
सुरक्षित हुन विकासको दिशा बदल्नु छ।
प्रतिक्रिया