काठमाण्डौ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएको घटनालाई ‘विदेशी-जासुसी विद्रोह’ को संज्ञा दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार धारणा सार्वजनिक गर्दै मिश्रले निर्दोष नेपाली युवाको असन्तोष, पीडा र आक्रोशलाई अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था वा संस्थाहरूले अनजानमै प्रयोग गरेको दाबी गरेका हुन्।
मिश्रले भदौ २३ गतेको घटनालाई यसअघि ‘जेनजी विद्रोह’ र २४ गतेको घटनालाई ‘घुसपैठ विद्रोह’ भन्दै आएको उल्लेख गर्दै तथ्यमा आधारित जासुसी चलचित्र र विभिन्न विद्रोहबारे अध्ययनपछि आफूले यसलाई ‘विदेशी-जासुसी विद्रोह’ भन्न थालेको बताएका छन्।
उनका अनुसार उक्त घटनामा करिब ६ घण्टाभित्र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित राष्ट्रप्रमुखको निवासमा समेत क्षति पुगेको थियो। यस्तो घटना विश्वमै दुर्लभ रहेको उनको दाबी छ।
घटनाका योजनाकारहरू आफ्नो लक्ष्यमा सफल भए वा अझै पनि कुनै अभियानमा सक्रिय छन् भन्ने आफूलाई थाहा नभएको मिश्रले बताएका छन्। भविष्यमा भदौ २३ र २४ का योजनाकार, योजना र कार्यान्वयनसँग सम्बन्धित गोप्य सूचना सार्वजनिक भए त्यसमा आधारित विश्वस्तरीय जासुसी चलचित्र बन्न सक्ने उनको भनाइ छ।
स्थानीय युवा तथा जनतालाई उनीहरूकै जानकारीबिना विद्रोहमा प्रयोग गरिएका ‘कभर्ट अपरेसन’ विश्वमा धेरै रहेको उल्लेख गर्दै मिश्रले नेपालमा पनि त्यस्तै भएको दाबी गरेका छन्।
नेपालले दीर्घकालीन राष्ट्रिय हित सुनिश्चित गर्न भदौ २३ र २४ को घटनाको गहिराइसम्म पुगेर अध्ययन गर्नुपर्ने उनको तर्क छ। साथै, नेपालको आन्तरिक शान्ति तथा क्षेत्रीय स्थिरताका लागि नयाँ समझदारी आवश्यक रहेको उनले बताएका छन्।
प्रतिक्रिया