त्रिपालमुनि बास छैन खाने गाँस

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ ७ ११:३० बजे

बाजुराका दुई सयभन्दा बढी बाढी पहिरो पीडित अहिले त्रिपालमुनि बास बस्न बाध्य छन् । यहाँका गाउँबस्ती प्रायः भिरालो तथा पाखो जमिनमा रहेकाले ती बस्तीका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् । 

गत जेठ १२ गते बुढीनन्दा नगरपालिका–१, जङ्गसाल, भारती र कोसाडी गाउँमा आएको पहिरोले यहाँका चार घर पूर्ण क्षति तथा अन्य सयभन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् । अझै यहाँका केही घरपरिवार त्रिपालमा बास बस्दै आएका छन् । पहिरोले घरसहित अन्य लत्ताकपडासमेत पुरिदिएपछि अहिले उनीहरूलाई बस्ने बाससँगै खाने गाँसको समेत अभाव भएको  हो ।

त्यस्तै गत साउन ८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले बढीमालिका–९, सेलाघाटका १३ घरमा क्षति पुगेपछि उनीहरू पनि त्रिपालमा बास बस्न थालेका छन् । गत साउन २८ गते राति त्रिवेणी–९, ताम्सुको गाउँमाथिबाट आएको पहिरोले क्षति पु¥याएपछि त्यहाँका ९६ घरपरिवार यतिबेला त्रिपालमुनि बस्दै आएका छन् । तीमध्ये दुई परिवारको न खाने गाँस छ न बस्ने बास । दुई दिनका लागि पालिकाले केही सहयोग गरे पनि  उनीहरूलाई कहाँ बस्ने के खाने भन्ने चिन्ता भएको यहाँका बाढीपहिरोपीडित बताउँछन् । 

यहाँ धेरै जना बाढीपहिरोबाट पीडित भएकाले उनीहरूलाई तत्काल त्रिपालबाहेक अन्य केही पनि वितरण गर्न नसकिने स्थानीय तहले जनाएको छ । दुई जनाबाहेक अरू कसैलाई पनि खाद्यान्न वितरण गर्न नसकिएको त्रिवेणी नगरपालिकाका सूचना अधिकारी नरेश पन्तले जानकारी दिनुभयो । 

बिहीबार दिउँसो जिल्लाको गौमुल गाउँपालिका–३, कटीगाउँमा अविरल वर्षासँगै आएको पहिरोले अहिले यहाँका १४ घरपरिवारको पनि त्रिपालमै बास भएको  छ । उनीहरूको खाने अन्न, लगाउने लुगासमेत नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी शाहीले बताउनुभयो । उहाँले गत वैशाखदेखि भदौसम्म २०३ त्रिपाल वितरण गरेको बताउनुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण यहाँका स्थानीयवासी घरवारविहीन भएपछि उनीहरूलाई अस्थायी रूपमा बास बस्नका लागि त्रिपाल वितरण गरिएको जिल्ला रेडव्रmस शाखा बाजुराले जनाएको छ । 

हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ बुढीनन्दा, गौमुल, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह पालिकाका करिब ११५ वटा बस्ती बाढीपहिरोको जोखिममा छन् । तीमध्ये ६५ बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । गोरखापत्र अनलाइन


२०८३ भदौ ७ ११:३० बजे

प्रतिक्रिया