दुइलाख घुस सहित विधालय व्यवस्थापन समिति सदस्य पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ ४ २०:०८ बजे

धनगढी। सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १३ महिनापछि ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गर्दै घुससहित एकजनालाई पक्राउ गरेको छ।

अख्तियारको कञ्चनपुरस्थित कार्यालयले कैलालीको गौरीगंगा नगरपालिका–४ मा रहेको कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई बिहीबार दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

अख्तियार कञ्चनपुरका प्रवक्ता चेतराज भट्टका अनुसार विद्यालयमा कार्यरत कर्मचारीलाई सेवा–सुविधा वृद्धि गरिदिने प्रलोभन देखाउँदै बमले रकम मागेको सूचना प्राप्त भएपछि आयोगले ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरेको थियो। सोही क्रममा उनलाई धनगढी-१ मा रहेको एक डेरी पसलबाट रकमसहित नियन्त्रणमा लिइएको हो।

संघीय सरकारले विद्यालय कर्मचारीको तलब वृद्धि गरेको भोलिपल्टै विद्यालय व्यवस्थापन समितिका सदस्यले कर्मचारीबाट ठूलो रकम मागेको घटना सार्वजनिक भएपछि विद्यालय कर्मचारीसमेत असन्तुष्ट बनेका छन्।सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति, बढुवा र सेवा–सुविधा वृद्धि गर्दा आर्थिक चलखेल हुने गरेको गुनासोका बीच अख्तियारको पछिल्लो कारबाहीले विद्यालय व्यवस्थापनमा संलग्न पक्षलाई सचेत गराएको छ।



२०८३ भदौ ४ २०:०८ बजे

प्रतिक्रिया