ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा

bimbonline बिम्ब अनलाइन
२०८३ साउन २१ ११:५३ बजे

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार ‘मरिन वन’ सैन्य हेलिकप्टर वासिङ्टनमाथिको उडानका क्रममा एउटा व्यावसायिक यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको हुन सक्ने घटनाको अमेरिकी अधिकारीहरूले छानबिन सुरु गरेका छन् । यद्यपि ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प कुनै पनि बेला जोखिममा नरहेको स्पष्ट पारेको छ ।

न्युयोर्क टाइम्सले घटनाबारे जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै मङ्गलबार हवाई यातायात नियन्त्रणसँगको सञ्चारमा समस्या आएपछि ‘मरिन वन’ र यात्रुवाहक विमानबीचको दूरी एक माइलभन्दा कम भएको जनाएको थियो ।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) ले अगस्ट ४ मा ‘मरिन वन’ र वासिङ्टन राष्ट्रिय विमानस्थलबाट उडेको व्यावसायिक विमानबीच आवश्यक दूरी कायम नरहेको हुन सक्ने घटनाको अनुसन्धान भइरहेको जनाएको छ 

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ‘मरिन वन’ विश्वकै उत्कृष्ट सैन्य चालकद्वारा सञ्चालन हुने हेलिकप्टर भएको उल्लेख गर्दै उडानका कुनै पनि चरणमा राष्ट्रपति ट्रम्पको सुरक्षामा खतरा नपरेको बताउनुभयो ।

अमेरिकी उड्डयन नियामक सङ्घीय उड्डयन प्रशासन (एफएए) ले पनि हवाई यातायात नियन्त्रक दुवै उडानका चालकसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । घटनाको विस्तृत समीक्षा जारी रहेको र आवश्यक देखिए सुधारात्मक कदम चालिने एफएएले जनाएको छ ।

वाल स्ट्रिट जर्नलका अनुसार यस्ता अवस्थामा कम्तीमा १.५ माइल तेर्सो दूरी र ५०० फिट ठाडो दूरी कायम हुनुपर्ने सुरक्षा मापदण्ड रहेको छ । सोही पत्रिकाले घटना स्थानीय समयअनुसार दिउँसो करिब २ः३० बजे भएको र अमेरिकन एयरलाइन्सको सहायक कम्पनी एन्भोय एयरले सञ्चालन गरेको एम्ब्रेयर ई–१७० विमान त्यसबेला उडानमा रहेको जनाएको छ ।

घटनाका बेला ‘मरिन वन’ एन्ड्र्युज वायुसेना अड्डातर्फ गइरहेको थियो । त्यहाँबाट राष्ट्रपति ट्रम्प क्यालिफोर्निया जान राष्ट्रपतिको विशेष विमानमा चढ्ने कार्यक्रम थियो ।अमेरिकन एयरलाइन्स र ‘मरिन वन’ सञ्चालन गर्ने अमेरिकी मरीन कोर्प्सले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

वासिङ्टन राष्ट्रिय विमानस्थल आसपासको हवाई सुरक्षा पछिल्लो समय विशेष निगरानीमा छ । सन् २०२५ को जनवरीमा सोही क्षेत्रमा यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । त्यस घटनापछि एफएएले विमानस्थल वरपरका हवाई सुरक्षा मापदण्ड थप कडा बनाएको थियो ।रासस


 



२०८३ साउन २१ ११:५३ बजे

प्रतिक्रिया