साम्राज्यवाद र फासीवादविरुद्ध एशियाली श्रमिक एकता आवश्यक - अरुण कुमार सिंह

bimbonline बिम्ब अनलाइन
२०८३ असार २२ २१:४९ बजे

काठमाडौँ । भारतको सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया कम्युनिस्ट एसयूसीआईसीका नेता अरुण कुमार सिंहले साम्राज्यवाद र फासीवादविरुद्ध विश्वभरका श्रमिक वर्गको सशक्त एकता आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

आइकोरद्वारा असार २१ गते काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले साम्राज्यवाद रहुञ्जेल विश्वमा युद्धको खतरा समाप्त हुन नसक्ने बताए । उनका अनुसार विश्वमा भइरहेका युद्धहरूको मूल कारण साम्राज्यवाद भएकाले दिगो शान्ति स्थापना गर्न साम्राज्यवादी व्यवस्थाको अन्त्य अपरिहार्य छ ।

सिंहले सोभियत संघको विघटनपछि विश्वमा शान्ति आउने दाबी गरिएको भए पनि अहिले विश्व झन् युद्धको जोखिमतर्फ उन्मुख भएको उल्लेख गरे । उनले विश्वभरका श्रमिक वर्गले आ–आफ्‌नो देशका सरकारमाथि दबाब सिर्जना गर्दै युद्ध र साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गर्नुपर्ने धारणा राखे ।

उनले विश्वका विभिन्न मुलुकमा फासीवादी प्रवृत्ति बढ्दै गएको दाबी गर्दै भारतमा पनि लोकतान्त्रिक तथा जनअधिकार क्रमशः संकुचित हुँदै गएको आरोप लगाए । निजीकरणको नीतिमार्फत सार्वजनिक सम्पत्ति र सेवाहरू कमजोर बनाइएको तथा श्रमिक र किसानमाथि अन्याय भइरहेको उनको भनाइ थियो ।

भारतका विभिन्न राज्यमा किसान, मजदुर र विद्यार्थी आन्दोलनहरू निरन्तर चलिरहेको उल्लेख गर्दै उनले न्यून ज्यालामा काम गर्न बाध्य श्रमिकहरू आफ्‌नो अधिकारका लागि संघर्षरत रहेको बताए । सार्वजनिक विद्यालय बन्द गर्ने प्रयासविरुद्ध पनि विभिन्न राज्यमा सशक्त आन्दोलन भएको र सरकार केही निर्णयबाट पछि हट्न बाध्य भएको उनले दाबी गरे ।

नेपाल र भारतबीच ऐतिहासिक तथा पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै सिंहले भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा नेपालले महत्वपूर्ण आश्रयस्थलको भूमिका खेलेको स्मरण गरे । उनले वर्तमान समयमा भारतले नेपाल, बंगलादेश र श्रीलंकाजस्ता छिमेकी मुलुकका आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै त्यसको विरोध गरे ।

उनले दक्षिण एशियाली क्षेत्रमा साम्राज्यवाद, विस्तारवाद, विभाजनकारी र सांप्रदायिक शक्तिविरुद्ध श्रमिक वर्गको साझा संघर्ष आवश्यक रहेको बताए । श्रमिक, किसान, विद्यार्थी र युवाबीच वैचारिक तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्दै एशियाली स्तरमा एकता निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

मार्क्स र एंगेल्सको “विश्वका मजदुरहरू एक होऔँ” भन्ने नारालाई स्मरण गर्दै सिंहले अहिलेको विश्व परिस्थितिमा त्यसको सान्दर्भिकता अझ बढेको बताए । समाजवादी मुलुकहरू कमजोर भए पनि श्रमिक आन्दोलन निरन्तर अगाडि बढ्ने र अन्ततः समाजवादको भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गर्दै उनले विश्वभरका श्रमिकहरूको संयुक्त संघर्षबाट सामाजिक परिवर्तन सम्भव हुने दाबी गरे ।

पत्रकार सम्मेलनमा उनले एशियाली मुलुकहरूबीच श्रमिक, किसान, विद्यार्थी र युवाको एकता सुदृढ गर्दै साम्राज्यवाद र फासीवादविरुद्ध साझा अभियान अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।


२०८३ असार २२ २१:४९ बजे

प्रतिक्रिया