धान रोपाइँको समयमा रासायनिक मल नपाउँदा यहाँका कृषक चिन्तित छन् । रोपाइँ सकेका यहाँका अधिकांश कृषकले यतिखेर रासायनिक मलको अभाव झेलिरहेका हुन् ।
रासायनिक मल नपाउँदा लगाएको बाली नसप्रिने भन्दै यहाँको बेलौरी नगरपालिका–८, पचुईका कृषक गजेन्द्र चन्द चिन्तित हुनुहुन्छ । चन्दले ११ बिघा जमिनमा उखु खेती तथा एक बिघामा धान खेती गर्नुभएको छ । उखु र धान खेतीका लागि बर्सेनि ४० बोरा डिएपी मल आवश्यक पर्ने गरेकोमा यस वर्ष भने मल नै नपाउँदा लगानी खेर जाने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
बेलौरीका कृषक मात्रै होइनन्, पुनर्वासका कृषकले पनि यस वर्ष रासायनिक मलको अभाव झेलिरहेका छन् । पुनर्वास नगरपालिका–५, सिमरीका जयाराम रानाले १० बिघा जमिनमा उखु खेती र एक बिघामा धान खेती गर्नुभएको छ तर हालसम्म रासायनिक मल नपाइएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सोही ठाउँका जानुमती रानाले दुई बिघा जमिनमा उखु खेती र १० कट्ठामा धान खेती गरे पनि रासायनिक मल नपाएको भन्दै मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
शुक्लाफाँटा नगरपालिका–१० का कृषक गोविन्दराज जोशीले मलका लागि २० किलोमिटर टाढा महेन्द्रनगरसम्म धाए पनि एक कट्ठा डिएपी मात्रै पाएको दुःखेसो पोख्नुभयो ।
एकातिर उखु खेती गर्दै आएका कृषकलाई अनुदानको मलका लागि कोटा नछुट्याइँदा पर्याप्त मल उपलब्ध गराउन समस्या भएको यहाँका पालिकाले जनाएका छन् । बेलौरी नगरपालिकाका कृषि शाखा प्रमुख सुमनराज जोशीले सरकारले अनुदानको मल खाद्यबालीमा मात्रै दिने गरेकाले कृषकको माग अनुसार मल पुगाउन नसकिएको बताउनुभयो ।
बेलौरी नगरपालिकामा चार हजार हेक्टर क्षेत्रफलमा धान, पाँच हजार हेक्टरमा उखु खेती तथा दुई सय हेक्टरमा केरा खेती हुँदै आएको छ तर सरकारले खाद्यान्न बालीमा मात्रै अनुदानको मल उपलब्ध गराउने गरेकाले कृषकलाई मल पुगाउन नसकिएको कृषि शाखा प्रमुख जोशीले बताउनुभयो । १० वटा वडा रहेको बेलौरीमा यस वर्ष ३७० कट्ठा मात्रै मल आएकाले यहाँका १८ सहकारीलाई वितरण गर्नुपर्दा समस्या भएको उहाँको भनाइ छ ।
कृषि सामग्री कम्पनी महेन्द्रनगरका प्रमुख हेमराज जोशीले जिल्लामा १५ हजार मेट्रिक टन मल आवश्यक पर्ने भए पनि हाल कार्यालयमा आठ हजार मेट्रिक टन मल मौज्दात रहेको बताउनुभयो । यहाँका कृषि सहकारीलाई कोटा अनुसार मौज्दात मल वितरण अगाडि बढाइए पनि माग अनुसार मल आपूर्ति नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया