दुई जनाविरुद्ध मुद्दा, दस जना रिहा

bimbonline बिम्ब अनलाइन
२०८३ असार ३ ११:४३ बजे

कैलालीमा एक महिलाको ट्याम्पो भिरबाट खसालिदिएको घटनामा दुई जनाविरुद्ध मुद्दा चलेको छ । प्रहरीले वरिष्ठ वन अधिकृत तथा सबडिभिजन अत्तरियाका प्रमुख कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध मुद्दा चलाएको हो । 

जिल्ला प्रहरी कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरुद्ध मुद्दा दर्ता गरिएको र बाँकी १० जनालाई रिहा गरिएको जानकारी दिनुभयो । पीडितको जाहेरीका आधारमा दुई जनाविरुद्ध मुद्दा चलाइएको उहाँको भनाइ छ । 

घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समितिसमेत गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा। हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४, भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँसपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीय धनादेवी धामीको ट्याम्पो भिरबाट धकेलेर खसालेका थिए । 

धामीले आफ्नो घरनजिकै भीमदत्त राजमार्गको गाईमारे डाँडाको सडक किनारमा ट्याम्पो रोकेर त्यसमै पानी, चाउचाउ, बिस्कुट, अन्डालगायत वस्तु बिक्री गर्दै आउनुभएको थियो । 

सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरेर व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको ट्याम्पो भिरबाट खसालिदिएका थिए । सो घटनाको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । 

घटनामा डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रूपमा हस्ताक्षर गरी एउटा विज्ञप्ति जारी गर्दै कर्मचारीको बचाउ गर्नुभएको थियो । 

साथै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस घटनाका विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि, वनका पदाधिकारीसँग मङ्गलबार पनि छलफल गर्नुभएको थियो । 


  



२०८३ असार ३ ११:४३ बजे

प्रतिक्रिया