काठमाण्डौ। चीनबाट निर्वासित तिब्बती धर्मगुरु दलाई लामासँग निकट एक जना पात्र बौद्ध घ्याङ गुठी व्यवस्थापन समितिको अध्यक्ष नियुक्त भएका छन् । एक चीन नीतिविरुद्ध अभियान चलाइरहेका खड्गजित लामालाई भर्खरै समितिको अध्यक्ष बनाइएको हो । त्यसैगरी, टासी लामालाई सचिव, शैलेन्द्र लामालाई कोषाध्यक्ष, किशोर लामा र निर्मला लामालाई सदस्य तोकिएको छ ।
पदेन सदस्यमा गुठी संस्थान, काठमाडौं महानगरपालिका–६, बौद्ध तथा मेलम्ची घ्याङ गुठी, जिल्ला प्रशासन कार्यालय रहेको छ । सो गुठी बौद्ध घ्याङ राजगुठीभित्र छुट गुठीमा सञ्चालन भइरहेको छ । गुठीयार र पुजारीको रूपमा चिनियाँ लामाले काम गर्दै आएका थिए । तत्कालीन चिनियाँ लामा भूपतिबज्र लामालाई नियुक्त भएको दिनदेखि नै दुःख दिइयो । उनलाई लखेट्न निरन्तर प्रहार गरियो । गुठी संस्थान नै उनलाई हटाउन लागिपरेको थियो । बौद्ध घ्याङ गुठीको जग्गा अतिक्रमण भएको विषयमा चासो देखाएका उनी पदमा हुञ्जेल निशानामा परिरहें । रोचक प्रसंग के भने, जग्गा संरक्षण गर्न जोड दिने व्यक्तिलाई हटाएर अतिक्रमण गर्नेलाई नियुक्ति दिइएको हो । ‘श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिको गठन आदेश, २०८३’ बमोजिम नियुक्त भएका खड्गजित विवादित पृष्ठभूमिका हुन् ।
मुलुकको परराष्ट्र नीतिविपरीत दलाई लामाको अभियानमा लागेका उनीमाथि बौद्धनाथ स्तुपाभित्र कानुनविपरीत संरचना खडा गरी भाडामा लगाएर कमाइ गरिरहेको आरोप छ । स्रोतका अनुसार आफू अध्यक्ष रहेको श्री बौद्ध तामाङ कल्याण गुठीको नाममा उनी बौद्ध घ्याङ गुठी र विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपाको महिमा गिराउन लागिपरेका छन् । ‘उनी फ्रि तिब्बत अभियानसँग जोडिएका छन्’, स्रोतले भन्यो । सो गुठीले दियो बाल्न बौद्धनाथ स्तुपाभित्र घर बनाएको छ । भक्तजनले दियो बाल्नका पनि शुल्क बुझाउनुपर्छ ।
प्रतिक्रिया