इरान- अमेरिका वार्ता किन असफल भयो

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख १ ०७:३८ बजे

पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्तामा इरान र अमेरिकाबीच आणविक कार्यक्रमलाई लिएर सहमति जुट्न सकेन। वार्ताका क्रममा इरानले आफ्नो आणविक परियोजना ५ वर्षसम्म रोक्ने प्रस्ताव राखे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै २० वर्षसम्म पूर्ण रूपमा रोक लगाउनुपर्ने अडान दोहोर्‍याएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै पक्षबीचको मतभेदका कारण वार्ता निष्कर्षविहीन बनेको हो। इरानले सीमित अवधिका लागि कार्यक्रम स्थगित गर्न तयार रहेको संकेत दिएको भए पनि अमेरिकाले दीर्घकालीन प्रतिबन्धमा जोड दिएको देखिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीमा समुद्री नाकाबन्दी लागू गर्ने निर्णय गरेका छन्। उक्त नाकाबन्दी सोमबार साँझदेखि लागू भइसकेको जनाइएको छ। यो कदमलाई क्षेत्रीय तनाव थप चर्काउने निर्णयका रूपमा हेरिएको छ।

ट्रम्पले चेतावनी दिँदै नाकाबन्दी क्षेत्र नजिक आउने कुनै पनि इरानी जहाजलाई तत्काल नष्ट गरिने बताएका छन्। उनका अनुसार लागुऔषध तस्करी नियन्त्रणमा प्रयोग हुने जस्तै कडा र छिटो सैन्य उपाय अपनाइनेछ।

नाकाबन्दीअन्तर्गत होर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने सबै जहाजलाई रोकेर जाँच गरिनेछ। विशेषगरी इरानसँग सम्बन्धित वा शुल्क तिरेका जहाजहरूलाई कडा निगरानीमा राखिने जनाइएको छ।

यो घटनाक्रमसँगै खाडी क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलघाँटीमा तनाव बढेसँगै विश्व बजारमा समेत यसको प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ।


२०८३ वैशाख १ ०७:३८ बजे

प्रतिक्रिया