टिकटकर मोहम्मद उमर खानका ३२ लाख फ्लोर भोट २४० प्राप्त

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २५ १४:२४ बजे

सामाजिक सञ्जाल टिकटकमा लाखौँ फ्यान कमाएका चर्चित टिकटकर मोहम्मद उमर खान प्रतिनिधिसभा निर्वाचनमा भने अत्यन्त कमजोर प्रदर्शन गर्दै पराजित भएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उनले जम्मा २४० मत मात्र प्राप्त गरेका छन्।

उमर खानको ‘अफिसियल उमरखान२’ नामक टिकटक आइडीलाई ३२ लाखभन्दा बढी प्रयोगकर्ताले पछ्याएका छन्। उनका भिडियोहरू १ करोड ९४ लाखभन्दा बढी पटक हेरिएका छन्। विशेषगरी ९० को दशकका रोमान्टिक हिन्दी तथा चर्चित नेपाली गीतहरूमा अभिनय गर्दै उनले सामाजिक सञ्जालमा ठूलो लोकप्रियता कमाएका थिए।

टिकटकमा मेलिना पन्तसँगको उनको जोडी दर्शकमाझ निकै चर्चित मानिन्छ। तर सामाजिक सञ्जालमा ठूलो लोकप्रियता भए पनि मतदाताको विश्वास जित्न भने उनी असफल भएका छन्।

तेक्वान्डो खेलमा ४३ वटा स्वर्ण पदक जितेका उमर खान चितवनमा मदरसा विद्यालय सञ्चालन गर्दै आएका छन्। उनले नेपाली चलचित्र ‘होस्टेल ३’ मा भिलेनको भूमिकाबाट अभिनय यात्रासमेत सुरु गरेका थिए। उनी सामाजिक सञ्जाल, खेलकुद र सामाजिक कार्यमार्फत सक्रिय मानिन्छन्।

यस निर्वाचनमा उमर खान राष्ट्र निर्माण दलको तर्फबाट उम्मेदवार बनेका थिए। मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मिया अन्सारीको नेतृत्वमा गठन भएको उक्त दल केही समयअघि मात्र सार्वजनिक गरिएको थियो। पार्टीले सबै समुदायलाई समेट्ने उद्देश्यका साथ राजनीति गर्ने घोषणा गरेको थियो भने यसको चुनाव चिह्न पानीको बोतल रहेको थियो।

पर्सा–१ मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त २७ हजार २७४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका अनिल रुँगटा तेस्रो स्थानमा रहेका छन्।

सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय मानिएका उमर खानको यो परिणामले अनलाइन लोकप्रियता मात्र चुनाव जित्न पर्याप्त नहुने देखाएको टिप्पणी भइरहेको छ।


२०८२ फागुन २५ १४:२४ बजे

प्रतिक्रिया