मानव इतिहासको विकासलाई भौतिकवादी दृष्टिकोणबाट अध्ययन गर्ने हो भने एउटा स्पष्ट सत्य भेटिन्छ,समाजको शक्ति संरचना सधैं उत्पादनका साधनको नियन्त्रणसँग जोडिएको हुन्छ। यही ऐतिहासिक सत्यलाई वैज्ञानिक रूपमा विश्लेषण गर्ने काम गरेका थिए कार्ल मार्क्स र फ्रेडरिक ऐङ्गेल्सले। उनीहरूले देखाए कि समाजको आधार आर्थिक संरचना हो र राजनीतिक, सांस्कृतिक तथा वैचारिक संरचनाहरू त्यसैको माथिल्लो तहका रूपहरू हुन्।
दासप्रथा, सामन्तवाद र पूँजीवाद जस्ता सामाजिक व्यवस्थाहरू उत्पादन शक्तिको विकास र उत्पादन सम्बन्धको परिवर्तनसँगै विकसित भएका हुन्।विश्व एउटा नयाँ ऐतिहासिक मोडमा पुगेको परिस्थितिमा औद्योगिक युगमा कारखाना, उद्योग र वित्तीय पूँजी शक्ति केन्द्र बने।फेरी डिजिटल युगमा शक्ति संरचनाको आधार क्रमशः नयाँ तत्वतर्फ सरेको छ,त्यो हो डेटा।
आजको विश्वमा जसले डेटा नियन्त्रण गर्छ, उसैले अर्थतन्त्र, सूचना प्रवाह, सामाजिक व्यवहार र राजनीतिक चेतनामा गहिरो प्रभाव पार्न सक्छ। यसैले आजको विश्व राजनीतिमा डेटा प्राविधिक विषय मात्र होइन यो शक्ति, प्रभुत्व र साम्राज्यवादको नयाँ आयाम बनेको छ।
डिजिटल पूँजीवाद : नयाँ उत्पादन शक्तिको उदय-मार्क्सवादी सिद्धान्त अनुसार उत्पादन शक्तिको विकासले समाजको रूपान्तरणको आधार तयार गर्छ। जब नयाँ उत्पादन शक्ति पुरानो उत्पादन सम्बन्धसँग ठोक्किन्छ, त्यहीँबाट सामाजिक परिवर्तनको प्रक्रिया सुरु हुन्छ।आज इन्टरनेट, कृत्रिम बुद्धिमत्ता, सामाजिक सञ्जाल र क्लाउड कम्प्युटिङ जस्ता प्रविधिहरूले उत्पादन शक्तिमा अभूतपूर्व परिवर्तन ल्याएका छन्।मानिसहरूले दैनिक जीवनमा प्रयोग गर्ने डिजिटल उपकरणहरूले निरन्तर डेटा उत्पादन गरिरहेका छन्। उदाहरणका लागी सामाजिक सञ्जाल प्रयोग अनलाइन किनमेल मोबाइल बैंकिङ डिजिटल नक्सा भिडियो प्लेटफर्म रहेको छन।
यी सबै गतिविधिबाट विशाल मात्रामा डेटा संकलन हुन्छ। यही डेटा आज डिजिटल पूँजीवादको कच्चा पदार्थ बनेको छ।ठूला प्रविधि कम्पनीहरूले यही डेटा प्रयोग गरेर उपभोक्ताको व्यवहार विश्लेषण गर्छन्,विज्ञापन बजार नियन्त्रण गर्छन्,नयाँ बजार रणनीति बनाउँछन्, राजनीतिक प्रचारलाई लक्षित बनाउँछन्,यसरी डेटा आर्थिक मूल्य सिर्जना गर्ने सबैभन्दा महत्वपूर्ण स्रोत बन्न थालेको छ।मार्क्सवादी दृष्टिकोणबाट हेर्दा डेटा डिजिटल युगको नयाँ उत्पादन साधन हो।
साम्राज्यवादको नयाँ चरण : डेटा प्रभुत्व-साम्राज्यवादको सिद्धान्तलाई अझ विकसित गर्ने क्रममा लेनिनले पूँजीवादको उच्चतम चरणलाई साम्राज्यवाद भनेका थिए। उनका अनुसार जब पूँजी केही सीमित वित्तीय समूहहरूमा केन्द्रित हुन्छ र ती समूहहरूले विश्व बजारमा प्रभुत्व जमाउन थाल्छन्, त्यही अवस्था साम्राज्यवाद हो।आज डिजिटल युगमा यही प्रक्रिया नयाँ स्वरूपमा देखिन्छ।विशेषतः संयुक्त राज्य अमेरिका र चीन बीचको प्रतिस्पर्धा आर्थिक वा सैन्य शक्ति मात्र होइन, डिजिटल प्रभुत्वको प्रतिस्पर्धा पनि हो।अमेरिकामा आधारित प्रविधि कम्पनीहरूले विश्वभरका मानिसहरूको डिजिटल व्यवहारबाट विशाल डेटा संकलन गरिरहेका छन्। अर्कोतर्फ चीनले आफ्नै डिजिटल संरचना निर्माण गरेर डेटा नियन्त्रणलाई राष्ट्रिय रणनीतिको रूपमा अघि बढाएको छ।यसरी डेटा विश्व शक्ति सन्तुलनको महत्वपूर्ण आधार बन्दै गएको छ।
दक्षिण एशिया र डिजिटल निर्भरता-दक्षिण एशियामा ईन्डिया जस्तो विशाल जनसंख्या भएको देश डिजिटल अर्थतन्त्रको ठूलो केन्द्र बन्न सक्थ्यो। तर लामो समयसम्म भारतले आफ्नै वैश्विक स्तरका डिजिटल प्लेटफर्महरू निर्माण गर्नुभन्दा विदेशी कम्पनीहरूका लागि प्राविधिक जनशक्ति उत्पादनमा बढी ध्यान दियो।यसका कारण लाखौं भारतीय प्राविधिक विश्वका प्रविधि कम्पनीहरूमा प्रभावशाली भए, तर डेटा नियन्त्रण गर्ने स्वदेशी डिजिटल संरचना अपेक्षाकृत कमजोर नै रह्यो।यसले देखाउँछ कि प्राविधिक जनशक्ति हुनु मात्र पर्याप्त हुँदैन डेटा नियन्त्रण गर्ने संरचना पनि आवश्यक हुन्छ।
नेपाल र डिजिटल सार्वभौमिकताको प्रश्न-झन् सानो अर्थतन्त्र भएको नेपाल जस्ता देशहरूका लागि डिजिटल निर्भरता अझ संवेदनशील विषय हो।हाल विभिन्न डिजिटल परियोजनाहरू मार्फत नागरिकहरूको विशाल डेटा संकलन भइरहेको छ, जस्तै राष्ट्रिय परिचयपत्र कार्यक्रम,एव डिजिटल लाइसेन्स,यसले प्रशासनिक सुधार र सेवा प्रवाहलाई सहज बनाउन सक्छ। तर यसको अर्को पक्ष पनि छ।यदि यस्तो डेटा स्वदेशी नियन्त्रणभन्दा बाहिर पुग्यो भने यसले गम्भीर प्रश्न उठाउँछ- नागरिकको गोपनीयता कसले सुरक्षित गर्छ ? डेटा कहाँ भण्डारण हुन्छ ? कसलाई यसको पहुँच हुन्छ ?यदि राष्ट्रिय डेटा संरचना बाह्य प्रविधि संरचनामा निर्भर भयो भने त्यो डिजिटल उपनिवेशवाद बन्ने खतरा रहन्छ।
एल्गोरिदम र विचारधारात्मक प्रभुत्व-मार्क्सवादी सिद्धान्तमा विचारधारात्मक प्रभुत्वको अवधारणालाई अझ विकसित गर्ने काम गरेका थिए। ग्राम्सीले,उनका अनुसार शासक वर्गले आर्थिक शक्ति मात्र होइन, सांस्कृतिक र वैचारिक प्रभुत्व पनि कायम गर्छ।डिजिटल युगमा यही प्रक्रिया एल्गोरिदममार्फत नयाँ स्वरूपमा देखा परेको छ।सामाजिक सञ्जालका एल्गोरिदमहरूले प्रयोगकर्तालाई कुन सामग्री देखाउने भन्ने निर्णय गर्छन्।यसका कारण- कुन विचार लोकप्रिय देखिन्छ, कुन समाचार भाइरल हुन्छ, कुन राजनीतिक बहस अघि बढ्छ।यी सबै कुरामा एल्गोरिदमिक प्रभाव पर्न सक्छ।
राजनीतिक सामूहिक उन्माद-डिजिटल प्लेटफर्महरूको प्रभावले कहिलेकाहीँ यस्तो अवस्था सिर्जना हुन्छ जहाँ मानिसहरूले गहिरो र गम्भीर सैद्धान्तिक, राजनीतिक अध्ययनभन्दा बढी डिजिटल प्रचारको प्रभावमा निर्णय लिन्छन्।यस अवस्थाले राजनीतिक सामूहिक उन्माद जन्मिन पुग्छ।यसमा,प्रतीक, नारा,डिजिटल छवि,सामाजिक सञ्जाल प्रचारले वास्तविक राजनीतिक बहसभन्दा बढी प्रभाव पार्न सक्छ।
इन्फ्लुएन्सर संस्कृति र सूचना युद्ध-डिजिटल युगमा सामाजिक सञ्जालले “इन्फ्लुएन्सर” नामक नयाँ सामाजिक शक्ति सिर्जना गरेको छ।लाखौं दर्शक भएको एउटा व्यक्तिले सार्वजनिक मतलाई प्रभावित गर्न सक्छ।कहिलेकाहीँ यस्तो प्रभाव स्वतन्त्र अभिव्यक्ति हो। तर कहिलेकाहीँ यो संगठित राजनीतिक रणनीतिको हिस्सा पनि बन्न सक्छ।यसैले आजको विश्व राजनीतिमा सूचना युद्ध भन्ने अवधारणा व्यापक रूपमा प्रयोग हुन थालेको छ।
डिजिटल उपनिवेशवाद-जब शक्तिशाली देश वा बहुराष्ट्रिय कम्पनीहरूले कमजोर देशहरूको डेटा नियन्त्रण गर्छन्, त्यसलाई धेरै विद्वानहरूले डिजिटल उपनिवेशवाद भनेर व्याख्या गरेका छन्।यसका प्रभावहरू यस्ता हुन सक्छन्- जनमत निर्माणमा बाह्य प्रभाव, डिजिटल अर्थतन्त्रमा निर्भरता राष्ट्रिय सुरक्षामा जोखिम मार्क्सवादी दृष्टिकोणबाट हेर्दा यो साम्राज्यवादको नयाँ स्वरूप हो,जहाँ भूभाग होइन, सूचना र डेटा संरचना नियन्त्रण गरिन्छ।
प्रतिरोधको मार्ग डिजिटल चेतना-यस अवस्थाको सामना गर्न समाजले दुईवटा महत्वपूर्ण कदम चाल्न आवश्यक छ।
पहिलो डिजिटल साक्षरता-जनताले एल्गोरिदम कसरी काम गर्छ,सूचना कसरी हेरफेर हुन सक्छ,तथ्य र भ्रम कसरी छुट्याउने,यी विषय बुझ्न आवश्यक छ।दोस्रो डिजिटल सार्वभौमिकता-देशहरूलेआफ्नै डेटा संरचना,आफ्नै प्रविधि प्लेटफर्म, आफ्नै साइबर नीति विकास गर्न आवश्यक छ।
निष्कर्ष,
मानव इतिहासमा शक्ति सधैं उत्पादन साधनको नियन्त्रणसँग जोडिएको छ।आज डिजिटल युगमा डेटा नै नयाँ उत्पादन साधन बनेको छ।यसैले डेटा नियन्त्रणको प्रश्न प्राविधिक विषय मात्र होइन यो आर्थिक,राजनीतिक र वैचारिक संघर्षको विषय हो।यदि समाज सचेत भएन भने डिजिटल प्रविधि नयाँ प्रकारको साम्राज्यवादको साधन बन्न सक्छ।तर यदि जनताले आलोचनात्मक चेतना, डिजिटल शिक्षा र स्वाधीन प्रविधि निर्माणको मार्ग अपनाए भने प्रविधि मानव मुक्तिको साधन पनि बन्न सक्छ।त्यसैले एल्गोरिदमको भ्रम चिर्नको लागि सत्य, तथ्य र जनपक्षीय चेतनामा आधारित नयाँ एल्गोरिदम निर्माण गर्नु नै आजको ऐतिहासिक चुनौती हो।
प्रतिक्रिया