इरानी ड्रोन आक्रमणमा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु

सँसारमा जहाँ जसका विच युध्द भए पनि मर्ने नेपाली

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १८ १६:४३ बजे

संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको इरानी ड्रोन आक्रमणमा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि भएको छ। भिमसेन थापा गाउँपालिका–७ बोर्लाङस्थित ठाटी निवासी श्रेष्ठको निधनबारे अबुधाबीस्थित नेपाली दूतावासले परिवारलाई जानकारी गराएपछि गाउँ शोकमा डुबेको छ।

दूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल आसपास ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा श्रेष्ठको ज्यान गएको हो। यूएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक सूचनाका आधारमा घटनाको पुष्टि गरिएको दूतावासले जनाएको छ।

श्रेष्ठका बुबा चामबहादुर श्रेष्ठले शनिबार साँझ मात्र छोरासँग भिडियो कलमा कुराकानी गरेको बताए। आइतबार भने छोराका साथीमार्फत् भागदौडका क्रममा मोबाइल हराएको र खुट्टामा चोट लागेको खबर आएको थियो। “मोबाइल हरायो भनेपछि सम्पर्क हुन सकेन। के भएको हो भनेर चिन्तामा थियौं,” उनले भने, “सोमबार बिहान दुःखद खबर आयो।”

एक वर्षअघि दसैं मनाएर रोजगारीका लागि यूएई गएका थिए। उनी त्यहाँ मिडल इस्ट कम्पनीमार्फत् सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। सरस्वती माविबाट माध्यमिक तहको अध्ययन पूरा गरेपछि उनी चार वर्षदेखि यूएई–नेपाल आवतजावत गर्दै आएका थिए। परिवारका अनुसार यसपटक छुट्टीमा घर आएपछि विवाह गर्ने योजना बनाइएको थियो।


२०८२ फागुन १८ १६:४३ बजे

प्रतिक्रिया