अरविन्द केजरीवाल निदोष ठहर

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १६ १२:३२ बजे
अरविन्द केजरीवाल पुर्व मुख्य मत्री दिल्ला

नयाँ दिल्ली।   अरविन्द केजरीवाल र मनिष सिसोदिया लाई कथित ‘शराब नीति’ भ्रष्टाचार काण्डमा वर्षौंसम्म मुद्दामा तानेपछि अन्ततः अदालतले सफाइ दिएको छ। अदालतको निर्णयसँगै दुवै नेता कानुनी रूपमा निर्दोष सावित भएका हुन्।

आम आदमी पार्टीका शीर्ष नेताहरूविरुद्ध लगाइएको आरोप राजनीतिक प्रतिशोधको परिणाम भएको पार्टीको दाबी छ। उनीहरूलाई महिनौंसम्म जेलमा राखिएको, सुनुवाइहरू पटक–पटक सारिएको र मुद्दालाई लम्ब्याइएको भन्दै आपले यसलाई योजनाबद्ध दमनको संज्ञा दिएको थियो।

सफाइपछि सार्वजनिक रूपमा बोल्दै केजरीवाल भावुक बने। आँखा रसाउँदै उनले भने, “केजरीवाल इमान्दार छ।” उनका समर्थकहरूले यसलाई सत्यको जितका रूपमा व्याख्या गरेका छन्। भ्रष्टाचारविरुद्धको आन्दोलनबाट उदाएका केजरीवालले आफूहरूलाई बदनाम गर्न सुनियोजित प्रयास भएको दाबी गर्दै आएका थिए।

आपका अनुसार मुद्दामा ठोस प्रमाण प्रस्तुत हुन नसक्दा अदालतले सफाइ दिन बाध्य भएको हो। पार्टीले यस प्रकरणका कारण दिल्ली राज्यको निर्वाचनमा नकारात्मक असर परेको र बदनाम अभियानकै कारण चुनावी परिणाम प्रभावित भएको दाबी गरेको छ।

यसैबीच, भारतमा अभियन्ता तथा वैज्ञानिक सोनम वांगचुक अझै पनि लामो समयदेखि जेलमा रहेको विषयलाई लिएर मानवअधिकारकर्मीहरूले प्रश्न उठाइरहेका छन्। अधिकार मागेकै कारण उनीमाथि कारबाही गरिएको आरोप लागिरहेको छ।

केजरीवाल र सिसोदियाको सफाइपछि भारतीय राजनीतिक वृत्तमा ‘शराब नीति’ प्रकरण फेरि चर्चामा आएको छ। विपक्षी दलहरूले यसलाई राजनीतिक दमनको उदाहरण भनेका छन् भने सत्तापक्षले अदालतको निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिएको छ।


२०८२ फागुन १६ १२:३२ बजे

प्रतिक्रिया