इरानसँगको युद्धबारे अमेरिकामै विरोध, युद्ध नियन्त्रणबाहिर जान सक्ने भन्दै राष्ट्रसङ्घको चिन्ता

bimbonline बिम्ब अनलाइन
२०८२ असार ८ १५:१७ बजे

अमेरिकाले इरानमा प्रत्यक्ष युद्ध शुरू गरेको विषयमा अमेरिकाभित्रै पनि विरोध भएको छ । इरानसँगको युद्धमा इजरायललाई सहयोग गर्दै आएको अमेरिकाले आज बिहान इरानको फोर्दो, नतान्ज र इस्फाहानका परमाणु केन्द्रमा हवाई आक्रमण गरेपछि अमेरिकाको विरोध भएको हो । कैयौं रिपब्लिक नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको तारिफ गरे पनि केही डेमोक्रेट र रिपब्लिकन सांसदहरूले यो निर्णयलाई असंवैधानिक र खतरनाक बताएका बीबीसीले जनाएको छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घले इजरायल र इरानबीच बढ्दो सङ्घर्षमा चिन्ता व्यक्त गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले अवस्था निकै खतरनाक भइसकेको र अब यो युद्ध तीव्र गतिमा नियन्त्रणबाहिर जानसक्ने चेतावनी दिनुभएको छ ।

विश्वभरका नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदमलाई लिएर आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले भने शान्ति वार्ताको वातावरण बनाउन आक्रमण गरेको दाबी गर्दै यदि अब पनि इरान शान्ति वार्ताका लागि तयार नभए अझै आक्रमण बढ्ने चेतावनी दिनुभएको छ ।

फक्स न्युजका अनुसार अमेरिकी सेनाले फोर्दोको न्युक्लियर साइटमा ५ देखि ६ वटा बी–२ बम्बर अर्थात् बङ्कर ध्वस्त पार्ने बम खसालेको छ । पहिले फोर्दो न्युक्लिएर साइट नष्ट गर्न २ वटा बङ्कर बस्टरको आवश्यक पर्ने अनुमान गरिएको थियो । अमेरिकाले इस्फाहान र नतान्जमा ३० टमहक क्रुज मिसाइल प्रहार गरेको छ । यिनलाई ४ सय माइल टाढा अमेरिकी पनडुब्बीबाट लन्च  गरेको हो ।

तर इरानले अमेरिकाको यो आक्रमणबाट ठूलो क्षति नभएको र परमाणुसँग सम्बन्धित सबै संरचना पहिल्यै सारिसकिएको दाबी गरेको छ । इरानी परमाणु ऊर्जा संस्थाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी आक्रमणमा परमाणु क्षेत्रमा कुनै प्रकारको रेडिएसन चुहावट नभएको बताएको छ ।

यसैबीच इरानले इजरायलको राजधानी तेल अभिभको विमानस्थलसहित महत्त्वपूर्ण क्षेत्रमा आक्रमण गरेको छ । इरानी सेनाका अनुसार यो आक्रमणमा धेरै शक्तिशाली विष्फोटक पदार्थ राखिएका लामो दूरीका मिसाइलहरूको प्रयोग भएका छन् । हवाई अड्डा, एक बायोलोजिकल रिसर्च सेन्टर, हतियारको केन्द्र र सेनाको कमान्ड क्षेत्रलाई निशाना बनाएको इरानले जनाएको छ ।

इरानको ब्यालेस्टिक मिसाइल आक्रमणमा इजरायलको मध्य र उत्तरी क्षेत्रमा २३ जना घाइते भएका छन् । यस्तै इजरायलले पनि इरानमा मिसाइल प्रहार गरिरहेको छ ।एजेन्सी


२०८२ असार ८ १५:१७ बजे

प्रतिक्रिया