मानव इतिहास र द्वन्द्व । भनिन्छ, मानव इतिहास द्वन्द्व र युद्धको इतिहास हो । आदिम युगमा मानव जातिले आफ्नो अस्तित्व र जीवन रक्षाको लागि भीमकाय पशुहरू र आफ्नै जातिसँग लडाइँ लड्नुपथ्र्यो । सभ्यताको विकासपछि सभ्य र असभ्य मानिने समूहबिच द्वन्द्व हुन थाल्यो । खेतीपातीको युग सुरु हुँदै गर्दा राज्यको उद्भव पनि भयो । त्यसपश्चात् दास युगको थालनी भयो र त्यस युगमा दास र मालिकबिच लडाइँ भयो । सामन्ती युगमा सामन्त र सर्वहारा किसानहरूको बिचमा तथा पुँजीवादी समाजमा मजदुर र बुर्जुवा वर्गबिच लडाइँ भयो । सबभन्दा कहालीलाग्दो युद्ध त पुँजीवादको चरम रूप साम्राज्यवादमा पतन भएपछि देश देशबिच भयो । पश्चिमा साम्राज्यवादी देशहरू विशेषतः युरोपका स्पेन, पोर्चुगल, बेलायत, फ्रान्स, जर्मनी, इटली, नेडरल्यान्ड, बेल्जियम र संरा अमेरिका तथा एसियाबाट जापानले स–साना देशहरूलाई उपनिवेश बनाउन ती देशमा थोपरेका भयङ्कर युद्धहरू तथा ती देशका जनताबिच झगडाको बीउ छर्दै ‘फुटाउ र राज गरको नीति’ थोपर्दै गएको परिणाम आज पर्यन्त हामी देख्न सक्छौँ । भारत पाकिस्तानको बैमनस्य, भारत–चीनको सीमा विवाद, कोरियाली जनताबिचको विभाजन, मध्यपूर्वका देशहरूबिचको विभाजन केही ज्वलन्त उदाहरणहरू हुन् । यिनीहरूमा सबभन्दा चर्को र विवादित द्वन्द्व हो इजरायल र प्यालेस्टाइनी द्वन्द्व । सन् १९४७ देखि आजसम्म अर्थात् विगत ७६ वर्षदेखि लगातार प्यालेस्टाइनी क्षेत्रमा यहुदी र प्यालेस्टाइनी जनताबिच निरन्तर द्वन्द्व हुँदै आएको छ । शनिबार असोज २० गते पनि फेरि युद्ध भड्कियो । हालसम्म इराजयलतर्फ ८०० जनाको मृत्यु भइसकेको तथा प्यालेस्टाइनीतर्फ ६०० तथा दुवै पक्षका हजारौँ जनता घाइते भएको समाचार आइसकेको छ । इजरायलमा विभिन्न कार्यमा संलग्न १० नेपालीले सो द्वन्द्वमा आफ्नो ज्यान गुमाइसकेको जनाइएको छ ।
इजरायल-इतिहासमा प्यालिस्टानी क्षेत्र
भूमध्य सागरको पूर्वी किनारमा अवस्थित आजको इजरायल र त्यस वरिपरिको मध्यपूर्वको मुख्य क्षेत्रमा (आजको सिरिया, जोर्डन, लेबनान, मिश्रको सेनाई) ईसापूर्व ४००० अथवा आजभन्दा ६५०० वर्ष पहिलेदेखि नै प्यालेस्टाइनी जनता बसोबास गर्दै आएको विश्वास गरिन्छ । यस क्षेत्र प्राचीन कालमा विभिन्न शक्तिशाली साम्राज्यको अधीनमा रहेको इतिहासले देखाउँछ । ईसापूर्व ६३ मा यस क्षेत्र रोमन साम्राज्यअन्तर्गत आउनुपूर्व कहिले आसिरीयन (मेसोपोटामिया) त कहिले पर्सिया साम्राज्यको अधीनमा थियो । रोमन साम्राज्यको अधीनमा रहँदा यस क्षेत्र इसाई धर्मावलम्बीहरूको आकर्षणको स्थल हुन पुग्यो । सन् ६४० मा यो भूभाग अरब मुस्लिमहरूको अधीनमा रहन गयो । सन् १०९९ सम्ममा यो क्षेत्र इसाई र इस्लाम धर्म युद्धको भूमिमा परिणत भयो । सन् ८८ देखि पहिलो विश्वयुद्धको अन्तसम्ममा यो क्षेत्र तथा पूरा अरबी क्षेत्र अटोमन साम्राज्य (हालको तर्की) अन्तर्गत रह्यो । तर, पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको पराजयपश्चात् यो क्षेत्र बेलायत अधीनस्त भयो । बेलायतले पहिलो विश्वयुद्धको उत्तराद्र्धमा सन् १९१७ मा बालफोर घोषणा अन्तर्गत यस प्यालेस्टाइनी क्षेत्रमा यहुदीहरूलाई बसोबास गर्न प्रेरित गर्यो । बेलायतको यो नीति बेलायत सरकारले युरोपका विभिन्न देशमा बसोबास गर्दै आएका यहुदीहरूलाई उनीहरूको एक देश बनाइ दिने वाचाअनुसार गरेको देखिन्छ । तर, बेलायतले यो वाचा गर्दा स्थानीय रैथाने अरबी र प्यालेस्टाइनी जनतालाई एक शब्द सोध्नुपर्ने आवश्यकता ठानेनन् ।
PLO – प्यालेस्टायनी मुक्ति सङ्गठन- पहिलो विश्वयुद्धको समाप्तिसँगै राष्ट्रसङ्घ को स्वीकृतिमा जोर्डन नदीको पश्चिम क्षेत्र हालको इजरायल तथा प्यालेस्टाइनी बसोबासको क्षेत्रलाई बेलायतले आफ्नो मातहतमा राख्यो । सन् १९३६ सम्ममा बढ्दो यहुदीहरूको आप्रवासनले प्यालेस्टाइनी भूमिमा प्यालेस्टाइनी र अरबी जनताले विरोध जनाउँदै विभिन्न आन्दोलन गर्न थाले । तर, सो आन्दोलनलाई बेलायती सेना र यहुदीहरूले निर्ममतापूर्वक दबाउँदै गयो । प्यालेस्टाइनी जनता र अरबी जनतालाई उनीहरूको बस्तीमा धाबा बोली छानी छानी बेलायतले निर्मतापूर्वक दबायो । भनिन्छ, त्यतिबेला दस प्रतिशतसम्म प्यालेस्टाइनी पुरुषहरूको बेलायत र यहुदीहरूले निर्ममतापूर्वक हत्या गरेका थिए ।
अझ दोस्रो विश्वयुद्धमा (१९३९ देखि १९४५) जर्मनीमा हिटलरको यहुदी जातिलाई समूल नष्ट गर्ने नाजीवादी नीति र आक्रमणको कारण यस क्षेत्रमा विस्तारै यहुदीहरूको बसोबास ह्वात्तै बढ्यो । सदियौँदेखि प्यालेस्टाइनी अरब मूलका जातिहरूको पवित्र भूमिको रूपमा रहँदै आएको यस क्षेत्रमा यहुदीको बस्तीलाई अरबी जनताले स्वीकार नगर्ने प्रस्टै थियो ।
इजरायलको जन्म- प्यालेस्टाइनी भूमिमा बेलायतको नीतिले अरबी जनतालाई सन्तुष्ट पार्न नसकेपछि बेलायतले चलाखीपूर्णरूपमा यसको व्यवस्थापन गर्ने जिम्मा संयुक्त राष्ट्रसङ्घलाई सुम्प्यो । संयुक्त राष्ट्रसङ्घले प्रस्तावना १८१ पास गरी यस प्यालेस्टाइनी भूमिलाई अरब र प्यालेस्टाइनी गरी दुई टुक्रामा विभाजन गरी सन् १९४८ मे १४ मा एक नयाँ देश इजरायलको स्थापना भएको घोषणा गर्यो । पश्चिमा शक्तिको वर्चस्व रहेको संयुक्त राष्ट्रसङ्घको यो नीति अरबी जनताको लागि अपमान र असह्य पीडा दिने घटना थियो । यसलाई अरबी जनताले स्वीकार्ने प्रश्नै उठ्दैन थियो । आखिरमा सबै अरबी देशहरूले संयुक्तरूपमा इजरायलको विरुद्ध युद्ध सुरु गर्यो । पहिलो अरब–इजरायल युद्धको नामले चिनिने यस युद्ध सन् १९४९ मा विराम भयो । अमेरिका र बेलायतको सहयोग पाएका इजरायलले युद्ध जित्यो । अरबी देशहरूलाई अपमानको विष पिउन बाध्य बनाइयो । तर, यो अपमानलाई अरबी जनताले कहिल्यै बिर्सेनन् । यस युद्धले ७,५०,००० (सात लाख पचास हजार) प्यालेस्टाइनी जनतालाई सो क्षेत्रबाट विस्थापित गरी शरणार्थी बन्न बाध्य बनायो । युद्धपश्चात् प्यालेस्टाइनी भू–भागलाई तीन भागमा विभाजन गर्यो – इजरायल राज्य , गाजा र पश्चिम किनार क्षेत्र गाजालाई मिश्रको अधीनमा राख्यो र पश्चिम किनार क्षेत्र जोर्डनको अधीनमा । यसरी यस विभाजनले इजरायको स्थापना गरियो तर त्यहाँका रैथाने प्यालेस्टाइनी जनतालाई राज्यविहीन शरणार्थीको दर्जामा झार्यो । पश्चिमा साम्राज्यवादले रैथाने जनतालाई गरेको क्रूर, अमानवीय र अत्याचारका असङ्ख्य घटनाहरूमध्ये प्यालेस्टाइनी जनतालाई गरेको अत्याचार पनि एक हो । अरबी जनता र प्यालेस्टाइनी जनतालाई गरेको अपमान असह्य थियो । इजरायलयको अस्तित्वको लागि स्थानीय जनतालाई नै विस्थापित गरेको घटनाले त्यस क्षेत्रमा शान्ति स्थापना हुने कल्पना पनि गर्न सकिँदैनथ्यो । त्यसैले प्यालेस्टाइनी जनताले आफ्नो हक र अस्तित्वको लागि आफ्नो आवाजलाई कहिले कमजोर हुन दिएनन् । इजरायल र पश्चिमा शक्तिविरुद्ध लड्न र आफ्नो भूमिमा आफू बसोबास गर्न पाउने अधिकारको लागि उनीहरू निरन्तर सङ्घर्ष गर्दै गए र अन्ततोगत्वा यो लडाइँलाई अझ व्यवस्थित गर्न सन् १९६४ प्यालेस्टाइनी मुक्ति सङ्गठन PLO – Palestine Liberation Organization) गठन गरे । ‘पश्चिमा साम्राज्यवादले संसारका विभिन्न देश र क्षेत्रबाट आफ्नो खूनी पञ्चा त हटाउँछ । तर, त्यहाँको जनतालाई भिडाउने बीउ पनि छरेर जान्छ’ भन्ने ज्वलन्त उदाहरण हो प्यालेस्टाइनी भूमिमा आज ७६ वर्षसम्म पनि युद्धहरू भइरहनु ।
प्रतिक्रिया