बाजुराको चिनोबाली लोप हुने अवस्थामा

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २३ १९:२५ बजे

बाजुरा। बाजुराका विभिन्न ठाउँमा फलाइने पछिल्लो समय चिनोबाली लोप हुँदैगएको छ । बाजुराको हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदहलगायतका केही ठाउँमा चिनो खेती लगाइने गरिन्छ ।

बाजुराका प्रत्येक स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेसँगै ती गाउँबस्तीमै चामल पुग्न थालेपछि चिनो खेती पनि बिस्तारै हराउँदै गएको हो । गाउँबस्तीमा सडकको पहुँच पुग्नु, घर–घरमा चामल पुग्नु, चिनो कुट्न गाह्रो हुने र यो चामलको भातजस्तो स्वादिलो पनि नहुने हुनाले चिनो खेती बिस्तारै घट्दैगएको यहाँका स्थानीयको भनाइ छ । 

बाजुराको हिमाली क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकामा परापूर्वकालदेखि नै चिनोको खेती लगाउने गरेको पाइन्छ । सामान्यतया चिनोकै नामले चिनिने यस बालीको धानजस्तो बोट र कोदोजस्तो दाना हुने हुनाले कतै–कतै धान कोदो पनि भन्ने चलन छ । यो बाली धानको विकल्पको रूपमा लगाउने गरिन्छ ।

चिनोको दाना सुगालगायत अन्य चराहरूले मन पराउने हुनाले यसलाई ‘चरी अन्न’ पनि भन्ने चलन छ । विशेषगरी कर्णाली प्रदेशका हिमाली जिल्लामा खाद्यान्न बालीका रूपमा खेती गरिदैआएको यस बालीको वनस्पतिका नाम पेनिकम मिलिएसिएम रहेको छ । 

नेपालको उच्च पहाडी भेगमा करिब तीन हजार ५०० मिटर उचाइसम्म वर्षा याममा यसको खेती गरिन्छ । चिनो कुट्न गाह्रो हुने र यो चामलको भातजस्तो स्वादिलो नहुने हुनाले यसको खेती र उपयोगिता घट्दैगएको स्थानीय ज्येष्ठ नागरिकको भनाइ छ । 

चैतमा लगाएको जेठ, असार र असारमा लगाएको असोज–कात्तिक गरेर दुई पटक खेती लिन मिल्ने यो बाली किसानका लागि उपयोगी छ । चिनोमा फेनोल्स, फाइटेट्स नाम गरेका क्यान्सर निरोधक रसादिहरू (फाइटोकेमिकल्स) र क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फोस्फरस, सोडियम, म्यान्गानेज र आइरनजस्ता अक्सिकरण निरोधक खनिज लवणहरू यसमा पाइन्छ ।

चिनोले क्यान्सर, हाडजोर्नी दुख्ने, कलेजोसम्बन्धी रोग, रक्तनली साँघुरिएर हुने हृदयाघातलगायत अन्य मुटुरोहरू, माइग्रेन तथा मिर्गौलाको पत्थरीजस्ता रोगहरू हुनबाट बचाउने स्थानीयको बुझाइ छ । चिनोमा पाइने फोस्फरस तत्त्वले शरीरका ग्रन्थिहरूको विकास एवम् पाचन प्रक्रियामा मद्दत गर्ने विज्ञको भनाइ रहेको छ।


२०८० भदौ २३ १९:२५ बजे

प्रतिक्रिया