धरानमा जातिय र धार्मिक द्वन्द्वको सम्भावना कायमै तत्कालका लागी टर्यो

कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गरेमा वा सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १० ०८:२३ बजे

काठमाण्डौ । स्थानीय प्रशासन र धरानवासीले संयमता अपनाउँदा आज जातीय र धार्मिक द्वन्द्वको सम्भावित दुर्घटना टरेको छ । धरानमा केही व्यक्तिले गोरु बध गरेर मासु खाएकोभन्दै आक्रोशित हिन्दुवादीले आज धरानमा प्रर्दशन आयोजना गरेका थिए ।प्रदर्शनविरुद्ध धरानका जातीय घटकले काउन्टर प्रदर्शन गर्ने योजना बनाएका थिए । प्रदर्शन हिंसात्मक हुने देखिएपछि शुक्रबार नै प्रशासनले निषेधाज्ञा लगायो । राजनीतिक दल, पूर्व र वर्तमान मेयरले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन भनेपछि सम्भावित दुर्घटना हाललाई टरेको छ ।

१४ जनाले ज्यान गुमाउँदै डेंगुको इपिसेन्टर बनेको धरानमा राज्यको ध्यान गएको छैन । तर, यहीबीच धरानमा केही साताअघि गोरु बध गरेर सामुहिक भोज गरेको भिडियो सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ । सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक गाई, गोरु मार्न वा कुटपिट गर्न नहुने भनिएको छ । यदी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गरेमा वा सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनतः दण्डनीय बनाएको छ ।

धरानमा गोरु काटेर खाएको विषय धरानेका लागि नौलो नभएपनि गोरु काटेर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक बनेको विषय हिन्दुवादीले चुनौती ठाने त्यसपछि वादप्रतिवाद सुरु भयो । यसको विरोधमा हिन्दु पक्षधर संघसंस्थाहरू उत्रिए ।विभिन्न आदिवासी जनजाति घटकले पनि काउन्टर विज्ञप्ति निकाले । त्यही क्रममा हिन्दु धर्म गुरुले भदौ ९ मा विशाल प्रदर्शन गर्ने भन्दै विभिन्न जिल्लाबाट समेत धरानमा प्रदर्शनका लागि आउन आह्वान गरे । सद्भाव र्‍याली भनेपनि दुवै पक्ष मुठभेडको मनस्थितिमा थिए । मेयर हर्क साम्पाङले धरानमा आएर प्रदर्शन नगर्न भनेपछि हिन्दुवादी थप आक्रोशित थिए ।

यसैलाई ध्यानमा राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगु नियन्त्रण गर्ने संक्रामक रोग ऐन २०२० को आवरणमा सम्भावित धार्मिक द्वन्द्व रोक्न निषेधाज्ञा जारी गरेपछि भने झगडा टरेको बुझिएको छ । तर, यसले उग्र रुप लिने भय भने कायम छ ।

हिन्दुवादी आक्रोशित हुनुमा गोरुको बध गरेको विषय मात्रै जोडिएको छैन । केही समयअगाडि मात्र मन्दिरको सामुन्ने चर्च बनेसँगै दुई धार्मिक समुदायबीच विवाद बढेको थियो । सुरक्षा संयन्त्रले पनि चर्च प्रकरणपछिको यो विस्तारित रूप भएको निष्कर्ष निकालेको छ । राजनीतिक दल, धराने समुदाय र प्रशासनको सुझबुझ पूर्ण निर्णयले तत्कालका लागि धार्मिक द्वन्द्व हुनबाट रोकिएको छ । सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण समाज बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्छ ।



२०८० भदौ १० ०८:२३ बजे

प्रतिक्रिया