मोहनविक्रम को प्राधिकार र कार्यनिति,शैली प्रति अन्तरविरोध

मोहनविक्रम को प्राधिकार र कार्यनितिशैली प्रति अन्तरविरोध

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १९ १४:४९ बजे
गगा पौडेल

 गगा पौडेल, अहिले नेकपा मसाल भित्रको अन्तरसङ्घर्ष खास गरी कार्यदिशा र कार्यशैलीसित सम्बन्धित हो । कार्यदिशा मूलतः बुर्जुवा गणतन्त्रबाट उपलब्ध भएको धर्मनिरपेक्षता, समावेशिता र स्थानीय निकायलाई दिएको अधिकारको रक्षागर्ने, संसदिय व्यवस्थाको भण्डाफोर गर्ने, नयाँ जनवादी व्यवस्थाको प्रचारात्मक आन्दोलनको नेतृत्व गर्ने, महङ्गी, भ्रष्टाचार, बेथितिको अन्त्यका लागि सङ्घर्ष गर्ने, पार्टीको आन्तरिक तथा भूमीगत प्रणालीको विकास गर्ने, स्थानीय सत्ताको अभ्यास गर्ने, पार्टीलाई सशक्त बनाउने विषयमा भिन्नमत रहेका हुन् ।

चुनावलाई संसदीय दलदलको रूपमा नभएर क्रान्तिकारी उपयोग गर्नु पर्दछ । हाम्रा जनप्रतिनिधिले जनतालाई दिने सेवासुविधा जनताले महसुस गर्ने खालका हुनुपर्दछ । हामीले जितेका स्थानहरूमा भ्रष्टचारको अन्त्य हुनुपर्दछ भन्ने हो । तर पार्टीले ति विषयहरूलाई स्वीकार गर्न सकेन । हुँदाहुँदै गत स्थानीय निर्वाचनमा घोर प्रतिक्रियावादी, राष्ट्रघाती, प्रतिगामी काङ्ग्रेससित गठबन्धन गरेर पार्टी चुनावमा निर्लज्ज प्रकारले हाम फाल्यो । यसले मसालमा विगतमा बचेखुचेको क्रान्तिकारी स्प्रिड पनि समाप्त भयो।

त्यसैगरी पार्टीभित्र एकमना एकता कायम हुन नसक्नुको कारण नेतृत्व स्वेच्छाचारी र प्राधिकार बन्न पुग्यो । क्रान्तिकारी विचार राख्ने सैयौँ कार्यकर्ताहरूलाई पार्टीभित्र टिक्नै नसक्ने अवस्था सृजना गरियो । पार्टीमा आर्थिक पारदर्शीता छैन । नेतृत्वको मनमर्जिले आर्थिक अपचलन हुने गर्दछ । नेतृत्वले पार्टीलाई सही ढङ्गले व्यवस्थापन गर्न नसकेको कारण पार्टीमा बारम्बार फुट, पलायन, निष्कृयता बढ्दै गयो । पार्टी दिनानुदिन कमजोर बन्दै गयो । नेतृत्वको कार्यशैलीमा कहिले पनि परिवर्तन हुन सकेन । नेतृत्वले यो कुरा कहिल्यै पनि स्वीकार गर्दैन । अब पार्टी नेतृत्वले पार्टीको कार्यदिशा र कार्यशैलीमा कुनै सुधार ल्याउलान् भन्ने आश नभएपछि अल्पमत पक्षका साथीहरूले पार्टी पुनःनिर्माणको दिशातिर बढ्नुको विकल्प थिएन । कार्यकर्ताहरूलाई झुट्टा आरोप लगाउनुको कारण पार्टीमा आफ्नो बचेखुचेको अस्तित्व गुमिहाल्छ कि भन्ने छटपटी नै हो ।सामाजिक संजालमा कतिपय मित्रहरूले आफ्नो श्रीमतीलाई सांसद नबनाएको कारण गङ्गा पौडेल पार्टीमा असन्तुष्ट भएको भनेर टिकाटिप्पणी गरेको र कतिपय साथीहरूले मसँग प्रत्यक्ष रूपमा प्रश्न गरेकोमा मेरो ध्यानाकर्षण भएको छ । सच्चा माक्र्सवादीहरूले कुनै पनि विषयलाई सत्य र तथ्यको आधारमा टिकाटिप्पणी गर्नुपर्छ भन्ने गरिन्छ । तर मेरोबारे टिकाटिप्पणी गर्नेहरूले सत्यतथ्यको आधारमा नभएर आग्रह, पूर्वाग्रह राखेर बेतुकका कुराहरू व्यापक रूपमा प्रचारबाजी गर्दै हिँडिरहेका छन् । ती साथीहरूको बारेमा मेरो भन्नु केही छैन ।

निर्वाचन आयोगले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चालाई जनजाति कलष्टरको एकजना महिला समानुपातिकतर्फ को उमेदवार छनौट गरी पठाउन निर्देशन गरीसकेपछि सरस्वती पौडेललाई प्रदेश सांसद बनाउनु पर्दछ भन्ने प्रश्नै रहेन । त्यति सामान्य कुरा बुझ्न नसक्ने त कुरै भएन । बयालिस वर्षको राजनीतिक जीवनमा मैले राजनीतिक लाभ, सार्वजनिक पदबारे कहीं कतै दावी गर्ने गरेको छैन । पार्टीले जुन ठाउँमा जिम्मा दिन्छ त्यसैलाई स्वीकार गरेर नै काम गर्ने गरेको छु । नेतृत्वले मेरो वास्तविक स्वभाव नबुझेर हैन फरक विचार राखेकै कारण म र मेरो पत्नी सरस्वति पौडेल माथि अनावश्यक प्रचारवाजी गराएर भ्रमको खेती गरिएको कुरा प्रष्ट छ । मसाल नेतृत्वको यो विगतको प्रवृत्तिको पुनरावृत्ति हो । नेतृत्वले प्रस्तावित गरेको विचार, उसको इच्छा र आकांक्षमा अरू कोही सहमत भएनन् वा फरक मत राखे भने उनीहरूलाई खोइरो खनेर पार्टीमा टिक्नै नदिने, जरैबाट उखेलेर फाल्ने गरेका उदाहरणहरू प्रसस्तै छन् । यस्ता प्रकारका आरोपहरू मलाई मात्र हैन, आठौँ महाधिवेशनमा फरक विचार राख्ने साथीहरू मध्ये कसैलाई आर्थिक हिनामिना गरेको, रिसाहा, महत्वाकांक्षी, पदलोभी, महामन्त्री बन्न नपाएर, अराजक, अनुशासनविहिन, जिम्मेवारी पूरा नगर्नेहरू, असक्षम, राजनीतिक चेतना नभएका, जडसुत्रवादी, जहाँजिम्मा दियो त्यही भत्काउने, पार्टी फोरुवा, सिआइडी, “रअ” बाट सञ्चालित जस्ता अनगिन्ती आरोप प्रत्यारोप लगाएर पार्टीबाट निष्कासन, निलम्बन र जिम्मेवारविहिन बनाउँदै जाने काम भएका छन् । आफ्नो पक्षमा भएकालाई अड्याउनका लागि मूलत मोहनविक्रम, चित्रबहादुर र आनन्द शर्मा आफ्नो जिउ छाडेर लागेका छन् । यीनिहरूको झुटको खेती अझै कतिदिन, कति वर्षसम्म चल्छ त्यो त समयले नै बताउला । 

जुन साथीहरूबाट मेरो वा अन्य अल्पमत पक्षका साथीहरूको बारेमा सामाजिक सञ्चालनमा झुटा आरोपित कुराहरू लेख्ने गरिन्छ, उनीहरू प्रति मेरो कुनै गुनासो छैन । विगतमा पार्टीमा हुने गरेका फरक धार, भिन्न विचार भएका वा पार्टीबाट अलग भएका साथीहरूलाई हामीले पनि त्यस्तै त्यस्तै निराधार आरोप लगाउने गर्दथ्यौँ । पार्टीबाट अलग भएर गएकाहरूको बारेमा पार्टी नेतृत्वले जुन प्रकारका आरोप लगाउने आधार तयार गर्दथ्यो ती सबै कुरालाई फोटोकपी गरेर हामीले पनि आरोप लगाउथ्यौ । विगतमा पार्टी छाडेका साथीहरूका वास्तविकता के थिए वा किन त्यति लामो समय पार्टीमा काम गरेका साथी पार्टीमा रहँदा, योगदान दिएका, शिक्षक पेशा, व्यवसाय सबै छाडेर पार्टीमा लागेका, क्षमता भएका, पार्टीलाई हाँक्न सक्ने, दिएको जिम्मा पूरा गर्न सक्ने हैसियत भएका साथीहरू किन पलायन भए रु त्यसबारे हामीले सोच्न सकेनौँ । कुनै चिन्ता गरेनौँ, उनीहरू मध्य नेतृत्वले कसैलाई मध्यपन्थी, कसैलाई मन्त्री बन्न नपाएर पार्टी छाडेको, कसैलाई दक्षिणपन्थी, उग्रवामपन्थी, रअ, सिआडी जस्ता आरोप लगायो हामीले पनि त्यसैमा तालि पिट्दै नेतृत्वको गुणगान गाइयो । मसाल नेतृत्वमा त्यो वंशाणुगत रोग अहिले पनि कायम छ । अहिले साथीहरूले त्यही परम्परालाई कायम वा निरन्तरता दिइरहनुभएको छ । डिलाराम र गिरधारीलाई पार्टीमा फरक विचार राखेका कारण पार्टीको भेलामै मैले आलोचना गरेको थिएँ । पार्टी नेतृत्वले उनीहरूका बारेमा हामीसँग नकारात्मक प्रशिक्षण गर्ने गर्दथे । म पनि नेतृत्वबाट प्रभावित भएर डिलाराम र गिरधारीलाल प्रति बढी नै आक्रोसित थिए । आक्रोस भएका कारण उनीहरूलाई अनेक आक्षेप लगाए । अहिले उहाँहरूसित त्यति धेरै आक्रोसित नभएको भए हुन्थ्यो जस्तो लाग्छ । नेतृत्वले फरक मत राख्नेलाई जे आरोप लगाउँछ साथीहरूले त्यही नै भन्ने गर्दछन् । त्यो कुनै अनौठो कुरा हैन । अनौठो त्यतिबेला हुनेछ जतिबेला साथीहरू आफैले नेतृत्वमा भएका खराबी तथा कालो कर्तुत जरैबाट बुझ्ने छन् । त्यसपछि हामीलाई गाली गर्न छाड्ने छन् ।

केपी ओली नेतृत्वको सरकार भएको बेलामा पार्टी सरकारमा सहभागी हुने भनि गरिएको निर्णयलाई मैले पार्टीभित्र फरक मत राखेको थिएँ । त्यसैगरी २०७४ सालको सङ्घीय तथा प्रादेशिक निर्वाचनमा एमाले र माओवादीसँग गरिएको चुनावी तालमेलको सन्दर्भमा पार्टीले गरेको निर्णयप्रति म लगायत अन्य थुप्रै केन्द्रीय समितिका साथीहरूको असहमति रहेको थियो । त्यही निर्वाचनमा पार्टीले सङ्घको समानुपातिकतर्फको उम्मेदवारहरू छनौट गर्ने क्रममा सरस्वती पौडेलको नाम पनि समावेश गरी सार्वजनिक गर्‍यो । त्यसको केही दिनपछि उनको नाम सङ्घबाट हटाएर गण्डकी प्रदेशतर्फको समानुपातिकतर्फको लिष्टमा समावेश गरियो । उमेदवार छनौट गर्नका लागि पार्टीमा संसदीय बोर्ड गठन भएको थियो । उमेदवार छनौटको काम उक्त बोर्ड मार्फत भएका थिए । सरस्वती पौडेललाई पहिले सङ्घ र पछि प्रदेशको उम्मेदवार किन बनाइयो त्यो कुरा पार्टी नेतृत्वलाई नै थाहा होला । सरस्वती पौडेल समानुपातिक उम्मेदवार बनाउनै पर्दछ भन्ने हामी दुवैले कतै चासो, गुनासो, चाकरी, चाप्लुसी गरेको पनि छैन । हामी दुवैजना पार्टीमा लागेर फाइदा लिन वा सार्वजनिक पदको लाभ लिन पनि लागेको हैन । मैले हुँदाखाँदाको पेन्सन निकट भएको जागिर बिचैमा छोडेर बिनाशर्त देश, जनता र पार्टीको सेवामा समर्पित भएको व्यक्ति हुँ र यो कुरा श्रीमतीलाई सांसद नबनाएको कारण गङ्गा पौडेल अल्पमततिर लाग्योअहिले पार्टी नेतृत्वले यही कुरा व्यापक प्रचार गरि हामी दुवैजनाको राजनीतिक चरित्रहत्या गर्ने काम गरेको छ ।यस्ता गैर राजनितिक कुरा भन्दा नेतृत्वले हामी सँग वैचारिक वहस गर्ने आट गरेमा राम्रो होला। (क.गँगा पौडेल नेकपा मसाल समन्वय समिति का पुरानो नेता हुनुहुन्छ)

                                                       

 


२०७९ साउन १९ १४:४९ बजे

प्रतिक्रिया